काठमाडौं २९ पुस । सार्वजनिक जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याउने अभियुक्त दुई जनालाई भक्तपुर जिल्ला अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ ।
अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले कीर्तेमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मोरङ हात्ती गौडा–६ घर भई भक्तपुर–१६, लोकन्थली बस्ने देवराज केसी र दोलखा नाम्मु–४ घर भई हाल काठमाडाैं गौशाला बस्ने मोतीप्रसाद घिमिरेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए।
अदालतले केसीसँग रु ८५ लाख र घिमिरेसँग रु ५० लाख धरौटी माग गरेकामा बुझाउन सकेनन् । विसं २०६२ मा मध्यपुरथिमी नगरपालिका–१६ स्थित दिव्येश्वरी कुशल भैरव थलीको सात करोड ७४ लाख ५० हजार बराबरको चार रोपनी छ आना एक पैसा जग्गा कीर्ते गरी काठमाडाैं महानगरपालिका–४ बालुवाटार ललित निवासका सुवर्ण शम्शेरका नाति, कनक शम्शेरका छोरा हेमाद्रीका नाममा ल्याउने काममा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको अनुसन्धानमा मालपोत कार्यालयका फाँटवाला खरिदार केसी, लेखनदास घिमिरे, घिमिरेकै पत्नी पार्वती र अधिवक्ता युवराज कोइरालाको समेत संलग्नता पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको दुई जना कारागार चलान भएलगत्तै फरारमध्येका अधिवक्ता कोइरालालाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मंगलबार नै डिल्लीबजारबाट पक्राउ गरेको छ ।
फरारमध्येका हेमाद्री शम्शेर र पार्वतीको भने खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए।रासस