काठमाडौं, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दीले नेपालमा उत्पन्न गरेको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न सङ्घसंस्थाद्वारा विश्व अन्तर्राष्ट्रिय मूल्याङ्न सप्ताहको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याबारे सम्मेलनमा जानकारी गराए ।
सम्मेलनमा एक सय देशबाट प्रतिनिधिका रुपमा विकास विज्ञ, विभिन्न मुलुकका सांसदहरु र अन्तर्राष्ट्रियदाताको उपस्थिति रहेकामा उनले प्रतिनिधिसमक्ष सहयोगका लागि आग्रह गरेका हुन् ।
उनले भने, “भूपरिवेष्टित राष्ट्रको हैसियतले नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकार र पारवहन सुविधाबाट नेपाल अहिले वञ्चित हुनुपरेको अवस्था छ, नाकाबन्दीका कारण ग्यास, पेट्रोलियम पदार्थ, औषधि जस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा व्यवधान उत्पन्न भएको छ ।” 
संविधानसभाको ९२ प्रतिशतभन्दा बढी सभासद्को सहभागितामा नेपालको संविधान जारी भएकाबारे कार्यक्रमका सहभागीलाई जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानले सबै वर्ग, जाति, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित गरेको पनि बतए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।