मंसिर ५ । पूर्वपश्चिम राजमार्गमा गएराती प्रहरीले बाटो खुलाउने क्रममा गोली लागेर दुईको मृत्यु भएको छ ।
बाटो खुलाउने क्रममा प्रहरीमाथि घेरा हालेर गोली चलेपछि आत्मरक्षाका लागि चलाएको गोली लाग्दा दुई आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मधेसी मोर्चामा संलग्न आन्दोलनकारीले एम्बुलेन्समा समेत आगो लगाउने तथा तोडफोड गर्न थालेका छन् ।
Comments