खोटाङ, ३१ भदौ । खोटाङको दिक्तेल नगरपालिकामा खानेपानीको समस्या झनै जटिल बन्दै गएको छ । नजिकमा पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाइमा ध्यान नदिनु र उचित व्यवस्थापन नहुनु यसको प्रमुख कारण हो ।

कहिले धारामा पानी नै नआउने त आइहाले पनि फोहर तथा दूषित पानी आउने गरेको उपभोक्ताको भनाइ छ । बढ्दो सहरीकरण तथा जनसङ्ख्याको चापले दिक्तेल नगरपालिकाको लागि खानेपानी व्यवस्थापनमा चुनौती थपिएको हो ।

नगरपालिकामा खानेपानीको व्यवस्थापन गर्ने जिम्मा पाएको उपभोक्ता समितिले उपभोक्ताबाट उल्टै चर्को शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । “समितिका पदाधिकारीका नजिकका केही व्यक्तिका घरमा तीन÷चारवटासम्म धारा बाँडिएको छ ।” नाम नभन्ने शर्तमा एक उपभोक्ता भन्छन्, “मैले वर्ष दिनअघि एउटा धाराका लागि निवेदन दिएको थिएँ, अहिलेसम्म दिएको छैन ।”

यस्तो अवस्थामा खानेपानी व्यवस्थापनको जिम्मा पाएको उपभोक्ता समितिको जिम्मेवारी निक्कै महत्वपूर्ण रहन्छ । तर, दिक्तेलको लागि १८ वर्ष अघि सुरु गरिएको खानेपानी योजना अलपत्र अवस्थामा छ ।

निक्कै महत्वकासाथ हेरिएको खानेपानी योजना ‘दिक्तेल बजार सुधार विस्तार खानेपानी योजना’ हाल अलपत्र अवस्थामा छ । उक्त योजना केही व्यक्तिको कमाइखाने भाँडो बनिरहेको राप्रपा (नेपाल) खोटाङका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आरोप छ । “वार्षिकरुपमा बजेट विनियोजन हुन्छ तर, काम भएको छैन,” उनले भने, “विनियोजित बजेट ककस्को गोजीमा जान्छ हेर्न बाँकी छ ।”

डेढ लाख लिटर पानी जम्मा हुने ट्याङ्की सदरमुकाम दिक्तेलको थामखोरेडाँडामा निर्माण गरिएपनि सुचारु नभई चुहिने अवस्थामा अलपत्र छ । झाडीभित्र अलपत्र अवस्थामा छाडिएको ट्याङ्कीदेखि हाटडाँडासम्म जिआई पाइप बिछ्याइए पनि हालसम्म प्रयोगमा आएको छैन ।

अलपत्र अवस्थामा छाडिएको योजनाका लागि हालसम्म रु तीन करोड ७४ लाख बढी खर्च भइसकेको पाइएको श्रेष्ठको दाबी छ । “योजना निर्माणको जिम्मा पाएका केही व्यक्तिले कामै नगरी बिल भर्पाई पेश गर्ने गरेको पाइएको छ ।” उनले भने, “यसप्रति सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।”

पटकपटकको मुहान विवादका कारण योजना सम्पन्न गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताए । सुरुमा दिक्तेल र नेर्पाबीचमा पर्ने छेपेखोलामा निश्चित गरिएको मुहान नेर्पा र दिक्तेलवासीको विवाद भएपछि नेर्पावासीले मुहान रोक्का गरेको अध्यक्ष आचार्यको भनाइ छ ।

पछिल्लो समय लोचा खोलाबाट पानी ल्याउने टुङ्गोका भएर काम थालिएको १८ वर्ष बित्न लाग्यो । यद्यपि, पानीको मुहान सुक्दै जाने, चुहावट हुने तथा सडक निर्माणको क्रममा गाडिएको पाइप निकालिदिने समस्याले योजना प्रभावित भएको उपभोक्ता समितिको भनाइ छ ।

लोचा खोलामा पानी सुकेपछि पुनः छेपे खोलाकै मुहान प्रयोग गर्न तालखर्कवासीसँग सहमति भएपनि फेरि नेर्पावासीले रोक लगाएका छन् । मुहान टुङ्गो लगाउने कामको लामो पहलपछि डेढ वर्षपछि नेर्पावासीसँग सोही छेपे खोलाकै मुहानमा सहमति भएपनि सोल्मावासीले मुहान प्रयोग गर्न नदिने अड्डी कसेका छन् ।

उनीहरुले कुनै पनि हालतमा मुहान दिन नसकिने भन्दै प्रशासनलगायतमा ज्ञापनपत्र बुझाएपछि योजना सुचारु गर्न नसकिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । “जब नेर्पाली साथीहरुसँग विवाद टुङ्गो लगाएर खुसीसाथ औजारसहित गिट्टी बालुवालगायतका निर्माण सामग्री मुहान पु¥याइयो, फेरि सोल्माली साथीहरुले रोक्नको लागि ज्ञापन बुझाए, अहिले पनि सोल्माली साथीहरुसँग मुहानका बारेमा सहमतिको प्रयास भइरहेको छ,” उनले भने ।
योजना सम्पन्न गर्न निर्माण उपभोक्ता समितिको पहल मात्रले सम्भव नहुने जनाउँदै सबै सरोकारवालाले चासो दिनुपर्ने समितिले आग्रह गरेको छ । उक्त योजना सफल भए तत्कालका लागि नगरवासीलाई राहत हुने समितिले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।