सप्तरी, २८ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको आज ३१ दिन पूरा भएको छ । 
लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै बजार पूर्णरुपमा बन्द भएपछि दैनिक खाद्यान वस्तुमा महङ्गी बढेपछि उपभोक्ता मारमा परेका छन् । 
यहाँ विगत एक महिनादेखि लगातार यातायातको साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल र पेट्रोलको समेत अभाव भएको छ । 
त्यस्तै राजविराज– १ स्थित मुख्य व्यापारिक क्षेत्र हटिया पनि विगत तीन दिनदेखि पूर्ण बन्द रहेकाले खाद्यान्न वस्तु, सागसब्जी र प्याजको अभाव भएपछि व्यापारीहरूले आफूखुसी मूल्य निर्धारण गरी उपभोक्तालाई महँगो मूल्य लिएर बिक्री वितरण गरिरहेको पाइएको छ । 
यहाँको बजारमा अहिले व्यापारीहरूले प्याजको भाउ रु १२० मा बिक्री भइरहेको छ । अधिकांश व्यापारीले बन्दको मौकामा खाद्यान्न वस्तुलगायत प्रत्येक समानमा दोब्बरको भाउ लिई ठगी गरेका छन् । 
बन्दका कारण बजारमा मोबाइलको रिचार्जसमेत पाउन समस्या भइरहेको सप्तरी पोर्ताहा–६ का मोबाइल उपभोक्ता महानन्द यादवको गुनासो रहेको छ । लगातार ३० दिनदेखिको बन्दले जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायत सबै ठप्प रहेको बताइएको छ ।
बन्दका कारण एक महिनादेखि जिल्लाको प्रत्येक स्कुल कलेज बन्द भएपछि विद्यार्थीले पढाइ गर्नबाट वञ्चित भएको विद्यार्थी बताउँछन् । साथै सेवाग्राहीहरू सरकारी कामकाजका लागि सदरमुकाम राजविराज आउन छाडेपछि यहाँका सरकारी कार्यालय सुनसान देखिएको बताइएको छ । 
त्यस्तै मधेसी मोर्चाको महिना दिनदेखिको जारी बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न दिएका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतको ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध पारेका छन् । 
सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले अनिश्चितकालीन तराई मधेस बन्द आह्वान गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।