जेठ । भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ ।
उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालनको तयारी गरेको छ । परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि सो परीक्षा गत वैशाख २० गतेदेखि तोकिएको थियो ।
परिषद्ले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गरी परीक्षाका लागि ८४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, ९१३ जना पर्यवेक्षक, नौ हजार ७६१ निरीक्षक, ८४६ कर्मचारी, एक हजार ६९२ कार्यालय सहयोगी र १० हजार ९९८ जना सुरक्षाकर्मी खटिने जानकारी दिएको छ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै परीक्षामा अपाङ्ता भएका परीक्षार्थीलाई कक्षा १० सम्म अध्ययन गरेका व्यक्तिबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ ।