सिन्धुपाल्चोक, १२ जेठ । वैशाख १२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका १८ गाविसका ६० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परे पनि तिनीहरूलाई तत्काल कहाँ सार्ने भन्ने निर्णय हुन सकेको छैन ।
भूकम्प गएको एक महिना बितिसक्दासमेत जिल्लाका उच्च जोखिममा परेका तातोपानी, लिस्ती, मार्मिङ, पिस्कर, गुम्बा, मांखा, राम्चे, भोताङ, बरुवालगायत १८ गाविसका ६० बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिए ।
भूकम्पपछि ती बस्तीमा गएको सुख्खा पहिरो र जमिनमा धाँजा फाटेकाले बस्ती उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीले प्रशासनसँग आफूहरूलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरेको उनले बताए ।
वर्षायाम सुरु हुन केही हप्तामात्र बाँकी छँदासमेत ती बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा निर्णय हुन नसक्दा झनै समस्या थपिँदै गएको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञवालीका अनुसार केही दिनअघि १२ जना भूगर्भविद्को टोलीले जिल्लाका उच्च जोखिममा रहेका बस्ती र भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर मौखिकरूपमा ती बस्ती उच्च जोखिममा रहेको जानकारी दिएपनि लिखितरूपमा केही नदिएको उनको भनाइ छ ।
“उहाँहरू दुई दिनमात्र यहाँ बस्नु भो, त्यो समय एकदमै कम भो, मैले उच्च जोखिममा परेका बस्तीमा थप विज्ञ टोली पठाइ अध्ययन गर्न सुझाव दिएको छु”, उनले भने ।
यसैबीच, विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको स्थलगत निरीक्षण गरी राजधानी फर्कनुभएका विभिन्न पार्टीका नेताहरूले रासससँग कुरा गर्दै वर्षाअघि नै ती बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण नगरे ठूलो दुर्घटना हुनसक्ने बताउनुभयो ।
मनसुन सुरु हुन केही समयमात्र बाँकी रहेकाले तत्काल वैकल्पिक व्यवस्था गरी ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष उनीहरूले निकालेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं ३ को दुई दिनअघि मात्र स्थलगत निरीक्षण गरी फर्किएका कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जिल्लाको विकट बस्ती बरुवा, बाँसखर्क, दुवाचौरलगायत गाविसको निरीक्षणपछि भूकम्प सुरक्षित स्थानमा अस्थायी बासस्थानको व्यवस्था मिलाउनुपर्ने बताए ।
वर्षायाम सुरु हुनुभन्दाअघिनै सुरक्षित स्थानमा सार्नुको विकल्प नरहेको बताउँदै महामन्त्री सिटौलाले त्यसपछि स्थायीरूपमा सरकार सुरक्षित पुनर्बासमा लाग्ने बताए ।
भूकम्पले पक्की तथा माटाका घर, आस्थाका धरोहर गुम्बा, मानेलगायतका संरचनामा ठूलो क्षति पुराएको बताउँदै उनले भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा पुराएको, जसमध्ये बढी प्रभावित ३ नम्बर क्षेत्र रहेको पाइएको बताए ।
बरुवा गाविसका कतिपय वडामा सुख्खा पहिरो जाने र जमिन धाँजा फाटेका कारण बस्न नमिल्ने आफूले पाएकाले मनसुन सुरु हुनुभन्दा अगाडि जनताको जीवन रक्षाका लागि अस्थायीरूपमा भए पनि सुरक्षित स्थानमा बस्ती सार्न सुझाव दिए ।
बरुवाको माथिल्लो भेगमा अहिलेसम्म प्रभावकारी राहत पुग्न सकेको छैन भने दर्जनाँै व्यक्ति अहिलेसम्म सम्पर्कविहीन छन् । विनाशकारी भूकम्पबाट बरुवामा मात्रै १२१ जनाले ज्यान गुमाएका छन् ।
Comments