काठमाडौं, २५ वैशाख । नेकपा–माओवादीले राहत वितरणमा पक्षपात गर्नेमाथि कारबाही थाल्ने चेतावनी दिएको छ । मोहन वैद्य नेतृत्वको माओवादीले १० दिनलाई उद्धार तथा राहत कार्यका लागि राजधानीमा रिजर्भ फोर्ससहित ६ वटा कार्यदल (टाक्सफोर्स) समेत गठन गरेको छ । 
अध्यक्ष वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको आकस्मिक विस्तारित बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा जनसेवाका लागि कार्यदल निर्माण गरी तत्काल मुख्य प्रभावित जिल्लाहरुमा परिचालन गरेको महासचिव रामबहादुर थापाले जानकारी दिएका छन् ।
माओवादीले सिंगो पार्टीलाई नै उद्धार तथा जनसेवा कार्यदलको रुपमा परिणत गरेको घोषणा समेत गरेको छ । उसले जेठ असारसम्म सिंगो पार्टी पंक्तिलाई उद्धार तथा राहतको काममा जुट्न निर्देशन समेत दिएको छ ।
माओवादी स्थायी समिति सदस्य कुल बहादुर केसी सोनामले टाक्सफोर्स शनिबारबाट नै विभिन्न ठाउँमा खटिने र उक्त ६ वटा टाक्सफोर्सले उद्धार तथा राहत कार्यमा सहयोग गर्ने जानकारी दिए । हरेक टाक्सफोर्समा कम्तिमा ५० जना रहने र त्यसले कुटो, कोदालो, गइती, खुकुरी लगायत सामग्री बोकेर पीडितहरुको सेवा गर्नेछ । पीडितका भत्किएका घरमा गएर अन्नबाली तथा लत्ताकपडा निकाल्न सहयोग गर्ने तथा इट्टामाटो पन्छाउन टाक्सफोर्स प्रयोग हुनेछ ।
उक्त फोर्सले राहतसँग जोडिएका बदमासी पाइए तत्काल कारबाही गर्ने समेत जनाएको छ । राहतमा पक्षपात तथा लुकाइएको पाइए हामी छापा मार्छौ, एक एक गरेर त्रिपाल गन्छौ स्थायी समिति सदस्य केसीले भने, न्यायोचित राहत वितरणमा पहल गर्दा जेल जान परे गइन्छ ।
माओवादीले चीनले सहयोग स्वरुप पठाएको पाल ढाकामा पुर्याएको र भारतबाट आएको पाल ल्याउन ढिला गरेकोमा आश्चर्य प्रकट पनि गरेको छ । पार्टी महासचिव थापाले राहत वितरणमा सरकारी तहबाट नै शंकास्पद क्रियाकलाप भएको जनाएका छन् । भूकम्प पीडितका लागि चीनबाट विमानस्थलमा आएका ५० हजार पाल कता गयो, थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, चीनबाटै विमानस्थलमा आएका ५० हजार पाललाई बंगलादेशको ढाका किन पठाइयो, भारतको पश्चिम बंगालबाट आएका सहरी विकास मन्त्रीले बुझिसकेको एक लाख पाल कता गयो । 
माओवादीले भूकम्पपछि भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार लगभग पूरा भईसकेको अवस्थामा विदेशबाट आएका उद्धार टोलीलाई फर्कन सरकारले गरेको आग्रहको वेवास्ता गरिउकोमा ध्यानाकर्षण भएको पनि जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।