वैशाख २१ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले महाभूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि पार्टी भन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष वैद्यले ठूलो शक्ति विस्थापित रहेको भन्दै कसरी पुनःस्थापना गर्ने भन्ने मुख्य चुनौती रहेको र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

राजधानीको ललितपुरस्थित खोकना, बुंगमती, हरिसिद्धी, लुबु लगायत स्थानमा सोमबार अवलोकन तथा अवस्था बुझ्न पुगेका अध्यक्ष वैद्यले यो पार्टी त्यो पार्टी नभनी पीडितको पुनःस्थापना तथा राहत संकलन तथा वितरणमा लाग्नुपर्ने बताए ।

खोकनाको अवलोकनपछि बुंगमती पुगेका अध्यक्ष वैद्यले भने, ‘महाविपतका बेला यो पार्टी त्यो पार्टी भन्दा पनि एकतावद्ध भएर अघि जानुपर्छ । त्यसको सरकारले कोअडिनेसर गर्नुपर्छ । अन्य पार्टीले पनि सहयोग गर्नुपर्छ ।’

अध्यक्ष वैद्यले गोरखा सिन्धुपाल्चोक लगायत ठाउँहरुमा राहत र उद्धारको पनि अभाव रहेको भन्दै ठूलो
सहयोग आउँदा पनि राहत र उद्धार नपाएकोप्रति आश्चर्य समेत प्रकट गरे । राहत वितरण तथा अन्य काममा पनि माथिल्लो तहमा पनि र तल्लो तहमा पनि सर्वपक्षीय संयन्त्र बनाएर अघि बढे सरकारलाई पनि सजिलो हुने र विवादित पनि नरहने बताए । राहत वितरण तथा सह्योग संकलनमा सरकारले सुरुमा अपनाएको एकद्धार नीति ठिक हुने भन्दै उनले त्यसमा सर्बपक्षीय समिति गठन गर्नुपर्ने र त्यसलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष वैद्यले सोमबार अवलोकन गरेको ललितपुरको बुङ्गमतीमा महाभूकम्पमा परी ७ सय ४६ घर पूर्ण क्षतिग्रस्त भएका छन् भने ७ सय १३ घरमा आंशिम क्षति पुगेको छ । सो स्थानमा ४ हजार ४ सय २० जना विस्थापित बनेका छन् । सो क्षेत्रममा ६ जनाको मृत्यु भएको थियो भने ५२ जना घाइते बनेका थिए ।
यस्तै, ललितपुरकै खोकनामा ११ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते बनेका थिए । उक्त क्षेत्रमा १ हजार ४६ घरमध्ये ९ सय बढी घर बस्न लायक छैनन् ।

ललितपुरकै हरिसिद्धीमा पनि ७ सय मध्ये ९० प्रतिशत चर्किएको र बस्न अयोग्य रहेको पीडितहरुले जनाएका छन् । त्यहाँका भूकम्प पीडितहरुले बस्ने ठाउँको व्यवस्थाको माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।