वैशाख ३ । जाजरकोटमा सामान्य रुघाखोकीको रुपमा फैलिएको रोगले १८ जनाको ज्यान लिई सक्दा पनि राज्यका तर्फबाट अझै आवश्यक कदम चालिएको छैन ।
रोगले महामारीको रुप लिई सक्दा पनि सरकारी तहबाट उदासिनता देखाएको, औषधी उपचारमा ढिला सुस्ती गरेको, सुरुमा हेलचेक्राई भएको पाइएको छ ।
जाजरकोटका विभिन्न गाविसमा दुई हप्तादेखि फैलिएको रोगलाई सुरुमा नै उचित रोकथामको प्रयास नगर्दा महामारीको रुप लिएको छ । उक्त रोगले बिहीबार थप एक जनाको निधन भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार राती नायकवाडा गाविस वडा न. ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको छ । 
महामारीका कारण जाजरकोटमा ३ हजार भन्दा बढी स्थानीय प्रभावित भएका छन् । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी समेत बिरामी परेपछि उनलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
गाविसमा एकै घरमा तीन चार भन्दा बढी बिरामी परेको नेकपा–माओवादीका एरिया इन्चार्ज दलबहादुर सिंहले जानकारी दिए । कतिपय घरमा परिवार नै बिरामी परेर थला परेपछि उपचार गर्न लैजाने व्यक्ति समेत नभएको बताइएको छ ।
महामारी प्रभावित क्षेत्रका स्थानीयले गाउँका गाउँ नै बिरामी हुँदा समेत सरकारले ख्याल नगरेको भन्दै आक्रोश पोखेका छन् । 
“सुरुमा एक गाविसबाट फैलिएको रोग ६ गाविसमा पुगीसक्यो”, नायक वाडा गाविसका एक स्थानीयले टेलिफोनमा भने, “सरकारले वास्तै गरेको छैन, चासो दिएको भए यो रोगले महामारीको रुप लिने थिइन ।” सरकारले पहिले नै चासो दिएको भए एकै गाविसमा उक्त रोगलाई नियन्त्रण गर्न सकिने भन्दै सरकारी वेवास्ताका कारण रोगले महामारीको रुप लिएको उनको भनाई छ । सुरुवाती दिनमा बिरामीलाई सामान्य रोग लागेको भन्दै सिटामोल दिएर फर्काउने गरिएको थियो ।
महामारी क्षेत्रका प्रभावित स्थानीयहरुले रोगले महामारीको रुप लिईसकेपछि पनि आवश्यक स्वास्थ्यकर्मी नै परिचालन नगरिएको, कार्यालय सहायकको भरमा उपचारार्थ भर पर्नु परेको, पर्याप्त औषधी उपचार नपाएको गुनासो गरेका छन् ।
चौतर्फी आलोचना
जाजरकोटमा फैलिएको महामारी रोकथामका लागि दुई हप्ता बितिसक्दा पनि उचित कदम नचालेको भन्दै चौतर्फी आलोचना भएको छ । 
प्रतिपक्ष दल एमाओवादीले सरकारले आवश्यक कदम नचालेको भन्दै आलोचना गरेको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले विज्ञप्ति जारी गर्दै सम्पूर्ण जिल्ला नै महामारीको शिकार भइसक्दा पनि राज्यका तर्फबाट भएको हेलचेक्र्याईका कारण १८/१८ जना सर्वसाधारणको मृत्यु भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य जस्तो जनताको अति संवेदनशील विषयमा वर्तमान सरकारले देखाएको रवैयाप्रति हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना प्रकट गर्दछ ।”
नेकपा–माओवादीले उक्त घटनामा सरकार मुखदर्शक बनेर बसेको आरोप लगाएको छ । भेरी कर्णाली राज्य संगठन समिति इन्चार्ज मायाप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै माहामारी प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषण गरी सम्पूर्ण विरामीहरुको उचित उपचार गर्न र मृतकहरूका परिवारलाई राहत दिन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “आफू सामान्य विरामी हुदा राज्यकोषबाट करोडांै खर्च गर्ने काठमाडांै केन्द्रित राज्यपक्ष दूर्गम जिल्लामा महामारीको रुपमा फैलिएको उक्त रोगका कारण यतिका मान्छेहरुको मृत्यु हँुदासम्म सामान्य औपचारिकता निभाउनुबाहेक कुनैकाम नगरी मुकदर्शक भएर बसेको छ ।”
नेतृ विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि महामारीप्रति चासो देखाएको छ । पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै तदारुकता र जिम्मेवारीबोधका साथ रोगको नियन्त्रण, रोगबाट प्रभावित बिरामी जनताको यथासक्य उपचारको ब्यबस्था र मृतकका परिवारलाइ उचित राहतको ब्यबस्था गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसुबक तथा ट्विटरमा पनि सरकारले उपचार तथा रोग नियन्त्रणमा ढिलासुस्ती गरेको भन्दै विरोध भईरहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।