वीरगन्ज (पर्सा), १० फागुन । वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको सिमरा क्षेत्र आज तनावग्रस्त भएको छ ।
मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीले आज बिहानैदेखि सडक अवरुद्ध बनाएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपका कारण सिमरा बिहानैदेखि तनावग्रस्त बनेको छ । स्थानीयले बिहान निकालेको शान्तिपूर्ण विरोध ¥यालीमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र स्थानीय प्रदर्शनकारीबीच झडप भएको हो ।
मध्याह्नसम्म भएको झडपमा प्रहरीले १०० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दुई दर्जन राउण्ड रबरको गोली पनि चलाएको छ । झडपमा परी नसिम हुसेन, ईश्वर थपलियालगायत २० जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।
घाइते नसिमको वीरगन्जमा र अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापासहित पाँचजना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले छजना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुमन भट्टराई, मीनप्रसाद चापागाईं, जगरनाथ घिमिरे, दिवाकर न्यौपाने, गङ्गा बस्नेत र रमेश चौहानलाई नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गर्नुका साथै एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।