माघ १० । पूर्वयुवराज पारस शाह दुई महिनादेखि थाइल्यान्डको जेलमा छन् । तर, परिवारले उनलाई छुटाउन कुनै चासो दिएको छैन । लामो समयदेखि बैंककमा बस्दै आएका पारस गत २३ असोजमा लागुऔषधसहित पक्राउ परेका थिए । त्यहाँको अदालतते लागुऔषध मुद्दामा उनलाई अनुसन्धानका लागि जेल चलानको आदेश दिएको हो । सुरुमा धरौटीमा छुटे पनि उनी पछि भनेअनुसार घुस दिन नसक्दा जेल चलान भएको स्रोत बताउँछ ।
पक्राउ परेको एक सातापछि पारस १० लाख भाट धरौटी राखेर छुटेका थिए । पछि अदालत तारेखलाई बेवास्ता गरेको भन्दै उनलाई जेल चलान गरिएको थियो । स्रोतका अनुसार आगामी फेब्रुअरीको तेस्रो साता पारसलाई अदालतले बोलाएको छ । यसपटक अदालतले उनलाई कैद सजाय तोक्न सक्ने बताइन्छ । पारसलाई साथी मात्र होइन, परिवारले समेत बेवास्ता गरेका छन् । प्रेमिका कन्निकासँग पनि अचेल उनको राम्रो सम्बन्ध छैन । थाइल्यान्डमा रहेका पारसका साथी सुमन अधिकारीलगायतले उनलाई सहयोग गर्दै आएका छन् ।
प्रेमिका कन्निकाकै गृहनगर जाँदा पारस पक्राउ परेका थिए । प्रेमिकाले नै प्रहरीलाई सुराकी गरेर उनलाई पक्राउ गराएको स्रोत बताउँछ । कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्दै पारसले ‘केही व्यक्तिहरूले आफूलाई नेपाल फर्केको हेर्न नचाहेको’ बताएका थिए । त्यसयता उनले फेसबुक पनि अपडेट गरेका छैनन् । त्यसवेला उनले प्रेमिकाले नै आफूलाई फसाएको भन्ने कुराप्रति विश्वास नभएको उल्लेख गरेका थिए ।
स्रोतका अनुसार लागुऔषधका अभियुक्तहरूलाई राखिने सुधारगृहजस्तो जेलमा उनलाई राखिएको छ । मुद्दा फैसला नभईकन उनी छुट्ने सम्भावना छैन । पारसको साथबाट गाँजा, कोकिन र आइस ड्रग गरी तीनथरी लागुऔषध बरामद भएकाले उनलाई कैद सजाय हुने सम्भावना रहेको स्रोत बताउँछ । तर, प्रहरी र अदालतमा घुस खुवाएर आफूले मुद्दा मिलाउने भन्दै कन्निकाले पैसा लिइरहेको बैंककमा रहेका पारसका एक साथी बताएको खबर नयाँ पत्रिका दैनिकमा छ ।
पारस दोस्रोपटक थाइल्यान्डमा पक्राउ परेका हुन् । त्यसअघि उनी रेस्टुरेन्टमा झगडा गरेर तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए ।
दुव्र्यसनी भएका कारण पारस सधैँ लागुऔषध साथमा राखेर हिँड्ने गर्थे । प्रेमिका कन्निकाले नै उनलाई लागुऔषधको प्रबन्ध मिलाइदिने गर्थिन् । पारसले लागुऔषध बोक्नेबारे कन्निकाबाहेक अरूलाई थाहा नहुने र उनले नै आफ्नो गृहनगरमा प्रहरीलाई सुराकी गरेर पक्राउ गराएको बैंककमा बस्दै आएका पारसनिकट नेपाली बताउँछन् । छुटाउनका लागि मोटो रकम घुस माग्ने र त्यसको कमिसन खान नै उनले पारसलाई पक्राउ गराएको स्रोत बताउँछ ।
पारस तत्काल छुट्ने सम्भावना नभएकाले परिवारले पनि खासै चासो दिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाह तथा श्रीमती हिमानीले साथीहरूलाई फोन गरेर वेलावेलामा उनीबारे बुझ्ने गरेका छन् । पारसबारे आफूहरूलाई थाई प्रहरीले औपचारिक रूपमा केही जानकारी नदिएको बैंककस्थित नेपाली दूतावासका कन्सुलर डोरनाथ अर्यालले बताए ।