माघ ९ । मेगा बैंकको दुई करोड नौ लाख ९० हजार रुपैयाँ बराबरको रकम ठगी प्रकरणका अभियुक्तमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ परेका अभियुक्त लमजुङ गाउँसहरका ४९ वर्षीय शम्भुबहादुर थापा, धादिङ सलाङका २४ वर्षीय प्रवीण तामाङ र प्रदीप पाण्डेलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 
घटनाका मुख्य योजनाकार मेगा बैंकका धादिङ शाखा प्रबन्धक सलाङका २६ वर्षीय राजेन्द्र पाण्डे भने फरार रहेको र उनको खोजी जारी रहेकोे प्रहरीले जनाएको छ । 
अभियुक्तले टुरिज्म डेभलपमेन्ट बैंकको मेगा बैंकमा रहेको खाताबाट २०७१ माघ १२ गते मेगा बैंकको नयाँ सडक शाखाबाट रु नौ लाख ९० हजार र माघ १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपैँया चेक क्लियरिङको माध्यमबाट ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 
घटनाका मुख्य योजनाकार राजेन्द्र पाण्डेले आफ्ना दुई भाइ प्रवीण पाण्डे र प्रदीप पाण्डेलाई नक्कली निक्षेपकर्ता बनाएर खाता खोली बैंक ठगी गरेको प्रहरीले जनाएको छ । 
प्रहरीले पाण्डे दाजुभाइको काठमाडौँको गोङ्गबुस्थित कोठाबाट गत माघ ७ गते धमिराले खाएको अवस्थाको नगद रु १० लाख १५ हजार ५०० बरामद गरेको थियो । 
माघ ८ गते धादिङस्थित निजहरुको घर खोपीमा माटोले टालेको अवस्थामा तथा बारीमा गाडिएको अवस्थामा सडेगलेको अवस्थामा रहेका गन्न नसकिने नोटका बन्डलहरु फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले बैंककै कर्मचारीको मिलोमतोमा बैंक ठगीको घटना पुष्टि भएको बताए ।
उनले घटनाको अनुसन्धानलाई हेर्दा बैंकभित्रका कर्मचारीले बाहिरको मान्छे प्रयोग गरेर नक्कली चेक भौचर बनाई दुरुपयोग गरी रकम लुटेको ठहरिएको उल्लेख गरे ।  
प्रहरीले एक वर्षअघिको घटना सिसी क्यामराको दृश्यका आधारमा लामो अनुसन्धानपछि अभियुक्तलाई फन्दामा पार्न सफल भएको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।