म्याग्दी, ३ मङ्सिर । म्याग्दीका एक व्यक्तिको विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा मानसिकरुपमा विक्षिप्त भएर निधन भएपछि परिवार बिचल्लीमा परेका छन् ।
पैसा कमाएर सुखी र खुसी जीवन कटाउने सपना बोकेर विदेसिएका भगवती–३ का ३६ वर्षीय रिमबहादुर परियारको मानसिक रोगका कारण निधन भएपछि परिवारमा पीडामाथि पीडा थपिएको हो ।
दश वर्षअघि साउदी अरब जाँदा साहुसँग लिएको तिर्न बाँकी ऋण र घर व्यवहार चलाउन समस्या भएपछि तनावका कारण मानसिक पीडामा तड्पिएका परियारको कात्तिक २५ गते घरमै मृत्यु भएको थियो ।
कम्पनीले भनेजस्तो तलब सुविधा दिन नसकेपछि परियार दुई वर्ष साउदीमा बसेर घर फर्कनुभएको थियो ।
अकालमै श्रीमान् गुमाउँदाको बेदनामा पिरोलिएकी रिमबहादुरकी श्रीमती सुनमायालाई छोराछोरीको लालनपालन, पठनपाठन र घर व्यवहार चलाउने तथा साहुको ऋण तिर्ने चिन्ताले पीडा थपेको छ ।
सुनमायाका अनुसार विदेश जाँदा लागेको रु ६० हजार ऋण र ब्याज तिर्न बाँकी छ ।
रिमबहादुरका बुबा भल्लु दर्जीका पाँच भाइको परिवार एकै घरका कोठा–कोठामा बस्दै आएका छन् । स्थानीय अगुवा देवेन्द्रबहादुर मल्लका अनुसार गुठीको जग्गामा घर बनाएर बसेका उनीहरुको जग्गा जमिन र पैतृक सम्पत्ति छैन् । वैदेशिक रोजगारीको असफलता र बेरोजगारीको मारमा परेका रिमबहादुरमा मानसिक समस्याले गर्दा विक्षिप्त थिए ।
जतिबेला पनि ऋणकै कुरा गरिरहने, टोलाउने, झोक्राउनेजस्ता मानसिक समस्या देखिएका रिमबहादुरको गरिबीका कारण उपचार र परामर्शको अभावमा निधन हुन पुगेको छिमेकीले बताएका छन् ।
साँघुरो घरमा धेरै परिवार बस्ने भएकाले छिमेकको आफन्तको घरमा किरिया बसेका भल्लुले किरिया खर्च पनि ऋण, धन गरेर जुटाउने तयारी गरेको बताए ।
रिमबहादुरका दुई छोरी र दुई छोरा छन् । १७ वर्षीया सविना र १३ वर्षीया सलिना स्थानीय मुक्तिधाम उच्च माविको कक्षा ८ र ६ मा पढ्छन् । नौ वर्षीय सन्देश र छ वर्षीय सुविन नजिकै रहेको सिद्धार्थ ज्ञानमन्दिर प्राविको २ र १ कक्षामा अध्ययनरत छन् ।
विदेशमा भनेजस्तो कमाइ नहुने, ऋण तिर्न नसक्नेजस्ता समस्याले मानसिक तनावमा पर्नेको समस्या बढ्दै गएको भगवती गाविसका पूर्व अध्यक्षसमेत रहनुभएका एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले बताए ।
रिमबहादुरको मृत्युपश्चात् गरिबी, विपन्नता र पारिवारिक कारणले चारजना बालबालिकाले शिक्षालाई निरन्तरता दिन नसक्ने अवस्था आएकाले उनीहरुका लागि सहयोग जुटाउन सुरु गरेको केसीले बताए ।
उनीहरुको शिक्षाका लागि अमेरिका बस्दै आउनुभएका अनील पाण्डेले रु १९ हजार ४०० र पर्वतको माझफाँट खोलाखेत घर भई हाल काठमाडौँ बस्दै आउनुभएकी राधिका मल्लले रु पाँच हजार १०० सहयोग गरेका छन् ।
दुवै जनाले पठाएको रु २४ हजार ५०० नगद मङ्गलबार मृतकको घरमै पुगेर हस्तान्तरण गरिएको समन्वयकर्ता पत्रकार कमल खत्रीले बताए । उनका अनुसार थप सहयोग पनि जुटाउने पहल भइरहेको छ । रासस