रोल्पा, ३ मङ्सिर । हत्या गरी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले मङ्गलबार सार्वजनिक गरेको छ ।

शनिबार राति धबाङ–४ का ५३ वर्षीय कुलबहादुर घर्तीको हत्या गरी फरार रहेका धबाङ–३ का ३७ वर्षीय राजेश घर्तीमगरलाई प्रहरीले सोमबार राति पक्राउ गरी मङ्गलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक नवीनराज राईले जिल्ला प्रहरी रोल्पाका प्रहरी नायब निरीक्षक रासबहादुर थापाको नेतृत्वमा खटिएको विशेष टोलीले गएराति १ बजे वडा नं ३ कै लिझिका भन्ने लेकमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।

अभियुक्त घर्तीको साथबाट हत्यामा प्रयोग भएको हँसिया र अभियुक्तको घरमा रगत लागेको चप्पलसमेत बरामद गरिएको उनले बताए । शनिबार सोही गाविसस्थित वडा नं २ ठूलोगाउँमा आफन्तको काजक्रियामा गएका उनीहरु बेलुकीसँगै घर फर्केका थिए । बाटोमा आपसी वादविवादपश्चात् हत्या गरेको अभियुक्त राजेशले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

शनिबार नै हत्या गरी फाले पनि पछिल्लो दिन बिहान मात्र घाँसपातमा गएका स्थानीयले कुलबहादुरलाई लिझिका लेकमा मृत अवस्थामा भेटाएका थिए । धारिलो हतियारले प्रहार गरी ढुङ्गाले थिचेको अवस्थामा शव भेटिएको थियो ।

पक्राउ परेका अभियुक्त राजेश घर्तीलाई कर्तव्यज्यानसम्बन्धी मुद्दा चलाउन अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।