बागलुङ, २८ कात्तिक । युवालाई लागुऔषधमा नफस्ने सन्देश दिन बागलुङका युवा नाटक निर्माणमा जुटेका छन् ।
बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर उच्च माविका छात्रछात्रा ‘विद्यार्थी जीवन’ नामक नाटकको माध्यमबाट सचेतना अभियानमा जुटेका हुन् ।
विद्यालयमा अध्ययन गर्ने २२ जना विद्यार्थी कलाकार रहेको उक्त नाटक प्रदर्शनका लागि अहिले विद्यार्थीले पूर्व तयारी गरिरहेका छन् । विद्यार्थीले ‘जीवन नाटक समूह’ नाटक मण्डली खडा गरी तयारी थालेको नाटकका संयोजक हरि विश्वकर्माले जनाकारी दिए । उनका अनुसार समूहले अहिलेका युवालाई जागृत गर्ने खालको नाटक रहेको भन्दै समाज र राष्ट्रलाई नै अगाडि बढाउने खालको नाटक निर्माण गर्न लागिएको हो ।
विद्यालयका संयोजक डिल्लीराज गौतमले उक्त नाटकमा सुरुमा युवा, युवती लागुऔषधमा फसेको र पछि सकारात्मक बाटोतर्फ लागेको कथा रहेको बताए । “भाइ बहिनीले निकै मिहिनेत गरेका छन्” गौतमले भन्नुभयो, “युवालाई सकारात्मक कुरा सिकाएर सिर्जनशील बनाउनुपर्छ भन्ने सन्देश निकै कलात्मक र जीवन्त तरिकाले प्रस्तुत गर्नेछन् ।” उनले आफ्नो विद्यालयका शिक्षकबाट सो नाटकका लागि रु ५० हजार सहयोग गरेको समेत उल्लेख गरे ।
करिब साढे एक घन्टाको नाटक मङ्सिरको दोस्रो सातादेखि बागलुङ, पर्वत र म्याग्दीमा प्रदर्शन गरिनेछ संयोजक विश्वकर्माले जानकारी दिए । चेतनामूलक नाटकको अडियो, भिडियोसहितको डकुमेन्ट्रीसमेत निर्माण गर्ने योजना बनाएको नाटक मण्डलीले रु दुई लाख लाग्ने अनुमान गरेको छ । मण्डलीले विभिन्न सङ्घ संस्थाबाट सहयोग सङ्कलन गरिरहेको छ ।