सल्लेरी २३ कात्तिक । सोलुखुम्बुबाट पाँचजना सभासद् बोकेको नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट बचेको छ । 
आइतबार बिहान सोलुखुम्बुको सल्लेरीस्थित फाप्लु विमानस्थलबाट आधा दर्जन सभासद्सहित १५ जना यात्रु बोकी उडान सुरु गर्न लागेकोे विमानको इन्जिनमा अकस्मात समस्या आएपछि विमानस्थलमै अवतरण गरिएको थियो ।
उडानका लागि विमान धावन मार्गमा गुड्दै गर्दा कल साइन ९ एन एबियु भएको सो विमानको दायाँतर्फको पङ्खा नघुमेपछि अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एटिसी अफिसर हरि अधिकारीले जानकारी दिए ।
सो विमानमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझावसम्बन्धी संसदीय समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरू रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पङ्गेनी, रेखा शर्मालगायत संसद् सचिवालयका कर्र्मचारीहरू चढेका थिए ।
जहाज अवतरण भएपछि नेपाल एयरलाइन्स काठमाडौंबाट इन्जिनियरसहितको टोली फाप्लु विमानस्थल आउने भएको नेपाल एयरलायन्सले जनाएको छ । -फोटोः फाइल
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।