कात्तिक २० । कम्प्युटर खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयले कञ्चनपुरको दोधारा–३ स्थित भानु बहुमुखी क्याम्पसका कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ । 

 कम्प्युटर खरिदमा अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको क्षेत्रीय कार्यालयका प्रवक्ता विष्णुसिंह विष्टले जानकारी दिए ।
सो क्याम्पसले चालु आर्थिक वर्षमा रु ३० लाख बराबरको कम्प्युटर खरिद गर्ने कार्यक्रमअन्तर्गत खरिद गरिएका कम्प्युटरमा अनियमितता भएको उजुरी परेको छ । 
क्याम्पसले पहिलो चरणमा २५ थान कम्प्युटर खरिद गरेको थियो । उक्त कम्प्युटर सस्तो मूल्यमा खरिद गरी महँगो मूल्यमा खरिद गरिएको देखाएर आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । 
अख्यितारले क्याम्पस प्रमुख यज्ञराज पण्डित र लेखापाल नारददत्त भट्टलाई बोलाएर बयानसमेत लिइरहेको जनाएको छ । त्यसैगरी अख्तियारले कीर्ते कागजात तयार पारी राजस्व छली गरेको आरोपमा लेखापढी व्यवसायी जमानसिंह रावललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । 
कीर्ते कागजातमा दोषी देखिनेलाई कारबाही गर्ने अधिकार आफूहरूको क्षेत्राधिकारभित्र नपर्ने भएकाले प्रहरीको जिम्मा लगाएको अख्तियारका प्रवक्ता विष्टले जानकारी दिए ।
लेखापढी व्यवसायी रावलले गाविसबाट घरजग्गा किनबेचका क्रममा सिफारिस भई आएको विवरण परिवर्तन गरी गाविसकै लेटरप्याडमा कीर्ते गरी राजस्व छलिमा संलग्न रहेको देखिएपछि उनलाई कारबाहीका लागि जिम्मा लगाइएको जनाएको छ । त्यसक्रममा गाविस, मालपोत तथा नापी कार्यालयका लेटरप्याड भेटिएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।