आरतीले सरकारलाई रु एक अर्ब राजस्व बुझायो

पथरी, १७ कात्तिक । मोरङको ट्याङ्की सिनवारीस्थित बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले सरकारलाई रु एक अर्ब राजस्व बुझाएको छ ।
आरती स्ट्रिप्स प्रालिका उपाध्यक्ष सञ्जीव शर्माका अनुसार आरती स्ट्रिप्स प्रालिले एक वर्षमा रु छ अर्बको जस्तापाता भारत निकासी र रु १२ अर्ब बराबरको जस्ता र कर्कटपाता उत्पादन बिक्री गरेकाले सरकारलाई रु एक अर्बको राजस्व बुझाएको बताए ।
करिब रु चार अर्बको लगानीमा सन् २००२ देखि सञ्चालनमा आएको आरतीले रङ्गीन र सादा जस्ता र कर्कटपाता उत्पादन गर्दै आएको छ ।
आरती स्ट्रिप्स प्रालिले एक वर्षमा रु छ अर्बको जस्तापाता भारत निकासी गरेको छ भने रु १२ अर्ब बराबरको जस्ता र कर्कटपाता उत्पादन गरेको छ । उत्पादित जस्तापातामध्ये आधा भारत र आधा नेपालमै खपत हुन्छ । 
आरती स्ट्रिप्स प्रालिका उपाध्यक्ष सञ्जीव शर्माले आरतीले वार्षिक ३० हजार टन जस्तापाता उत्पादन गर्छ । सादा जस्तापाता र कर्कटपाता, रङ्गीन जस्ता र कर्कटपाता तथा ब्लाक पाइप उत्पादन गर्दै आएको छ ।
शर्माका अनुसार विभिन्न ३० रङ्गका जस्तापाता र कर्कटपाता उत्पादन हुन्छ । त्यसमध्ये निलो, रातो, हरियो र सेतो जस्ता र कर्कटपाता नेपालमा बढी खपत हुन्छ । आरतीमा हाल ६०० ले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमध्ये ४०० नेपाली छन् । रासस

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।