१७ कात्तिक । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले अपहरण गरेको आरोप लागी फरार भएका दुई जनालाई पक्राउ गरी आज जिल्ला अदालत चलान गरेको छ ।
सिन्धुपाल्चोक पाङताङ–४ बस्ने २५ वर्षीय जीवन श्रेष्ठलाई २०७० फागुन १२ गते बराम्चीको ढाडे भन्ने ठाउँबाट अपहरण गरेको र अपहरणबाट उम्किएर प्रहरीमा उजुरी गरेपछि फरार रहेका भक्तपुर थिमि नगरपालिका– १५ बस्ने ३० वर्षीय ठूलो सगुन श्रेष्ठ र सिन्धुपाल्चोक जिल्लाकै हगाम– ५ बस्ने २५ वर्षीय प्रेमलाल श्रेष्ठलाई हनुमानढोका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई बुझाएको हो ।
अपहरण गरेको प्रमाणित भएमा कानुनबमोजिम सातदेखि १५ वर्ष जेलसजाय वा रु २५ हजारदेखि दुई लाखसम्म जरिवाना या यी दुवै सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताए ।
Comments