काठमाडौँ, २५ पुस
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्राध्यापक डा. गोविन्द केसीको प्रक्राउ प्रति कडा आपत्ती जनाएका छन् । अदालतको अवहेलना गरेको भन्दै प्रा डा केसी पक्राउ परेपछि आज माइतीघर मण्डलामा आयोजना गरिएको प्रदर्शनमा उनीहरुले  तुरुन्त रिहाइको माग गर्दै आपत्ती जनाएका हुन् ।
प्रा डा केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुगेका भट्टराईले  “सग्रम स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हठात्मा प्रक्राउ गर्नुपर्ने कुनै कारण देखिँदैन, गिरफ्तार गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुन्छ, उहाँ आफैँ पनि सत्याग्रहमा हुनुहुन्छ त्यसैले उहाँलाई दण्डित गर्नुको अर्थ रहँदैन ।” भने ।
उनले सत्य र सत्ताको लडाईंमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुने भएकाले आफू डा केसीको साथमा रहेको बताए । 
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रा डा केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए । उनले भने, “ श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।” 
प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भने “डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।”सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएकोे उनको भनाइ थियो । 
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताए। “उहाँलाई रिहा गर्नै पर्छ, उनले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा केसीले बोल्नुभयो”– उनले भने । 
‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान ८ः०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए । 
माइतीघरमा भएको भेलामा मुटु शल्यचिकित्सक डा रामेश कोइराला, नसासम्बन्धी सल्यचिकित्सक डा बसन्त पन्त, डा रवीन्द्र पाण्डे (समीर), नेपथ्यका गायक अमृत गुरुङ, हास्यकलाकार निर्मल शर्मा ९गैडा० लगायत सर्वसाधारण सहभागी थिए। आफ्ना मागसहित आमरण अनशन शुरु गरका प्रा डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राखेका छन्  भने अहिले उनलाई सर्वोच्च अदालतको मानहानिका विषयमा अदालतमा बहसका लागि उपस्थित गराइएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।