असोज–३१ । तास खेलेको निहुँमा रकम असुलेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् । तास खेल्दै गरेका युवाहरुबाट नगद दुई हजार पाँच सय रुपैयाँ असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी हवल्दार बौवालाल यादवसहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ परेका यादव सहित चारै जनालाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । उनले भने, ‘उनीहरुले नेपाल प्रहरीको मर्यादा बिपरित काम गरेकाले हदैसम्मको कारबाही गरिनेछ ।’
सदरमुकाम दिक्तेलस्थित पुरानो वेस क्याम्प नजिक किराना पसलमा मंगलबार साँझ स्थानीय युवाहरु तास खेलीरहेको अवस्थामा यादवसहित गस्तीमा आएको प्रहरी टोलीले चार घण्टा नियन्त्रणमा लिएर रकम असुलेका थिए । तास खेल्नमा संलग्न नेत्रबहादुर कटवालका अनुसार उनीहरुले शारीरिक तथा मानसिक यातना दिँदै तीन लाख रुपैयाँ मागेकामा दुई हजार पाँच सय रुपैयाँ चाँही लगेका छन् । कटवाल भन्छन्, ‘रकम असुलीबारे कसैलाई जानकारी दिए, उनीहरुले ज्यान लिने धम्की समेत दिएका थिए ।’ 
रकम असुलेपछि उनीहरुले कागज समेत गराएको कटवालको भनाइ छ । कटवाल भन्छन्, ‘कारबाही नै भोक्नुपर्छ भने, कार्यालयमा लानुस् भन्दा समेत नमानी जबरजस्ती दुई हजार पाँच सय रुपैयाँ गोजीबाटै झिकेर लगे ।’
तास खेलेको थाहा पाएपछि प्रहरीले पसलको ढोका फोरेर उनीहरुलाई नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सोही ढोकाको आग्लोले तास खेल्नमा संलग्नलाई प्रहरीले कुटपिट समेत गरेका थिए ।
कटवालकै किराना पसलमा भएको घटनापछि उनीहरुले एक दर्जन रेडबुल र तीन झोला बिस्कुट समेत खाइदिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।