भक्तपुर, २ असोज । मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीमा एक इनारमा पसेका दुईजनाको आज मृत्यु भएको छ ।

स्थानीय हरिलाल कुटुको सिमेन्ट गोदाममा काम गर्ने काभे्र घर भएका वर्ष ३५ का डम्बर पहरी र सिन्धुपाल्चोक घर भएका वर्ष ३० का गोविन्द पौडेलको इनारमा पस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान इनारमा पानी झिक्न लाग्दा बाल्टिन इनारमा खसेपछि बाल्टिन झिक्न गएका पहरी फर्केर नआएपछि उनलाई बचाउन गएका पौडेल पनि इनारमै अक्सिजनको कमीले बेहोस भएका थिए ।

दुवैजना इनारबाट बाहिर ननिस्किएपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले इनारभित्रबाट दुवैजनालाई निकालेका थिए ।

जीवित रहेकै आशामा प्रहरीले थिमिस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा उपचारका लागि लैजाँदा दुवैको मृत्यु भएको चिकित्सकले घोषणा गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।