असोज १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर– १ स्थित तुल्सीनगरमा बुधबार  दिउसो बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको छ

बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना ५ ख २१८३ नम्बरको बस, विपरीत दिशातर्फ गइरहेको लु १ च ३७३० नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किएका थिए ।  सोही समय भित्रीसडकबाट राजमार्गमा निस्कँदै गरेको लु ५ प ६४९४ नम्बरको मोटरसाइकल पनि एकआपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतकहरूको सनाखत हुन सकेको छैन ।

    दुर्घटनामा परी घाइते हुनेहरूको देवदह मेडिकल कलेज रुपन्देही र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा बाग्लुङ गल्कोट– १ का २२ वर्षीय खेम खड्का, बुटवल नगरपालिका– ६ का ३५ वर्षीय मनीप्रसाद पौडेल, नवलपरासी रामग्राम–५ का ४५ वर्षीय अनिलकुमार शर्मा, पोखरा उपमहानगरपालिका– ११ का लोकराज पौडेल र रुपन्देही धकधईका तोयव खाँन रहेका छन् । उनीहरूमध्ये खाँनको लुम्बिनी अस्पताल र अन्यको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमै र अन्य दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चार जनाको शव पृथ्वीचन्द्र अस्पताल परासीमा परीक्षणका लागि ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।