काठमाडौँ, १ असोज । अहिलेको बजार निजी क्षेत्रको नियन्त्रणमा छ । आपूर्ति र वितरणमा उनीहरूको एकाधिकार भएकाले मूल्य उनीहरूले नै निर्धारण गर्ने गर्दछन् ।

    बजार मूल्यमा सरकारको हस्तक्षेपकारी भूमिका कम भएकाले बेला बेलामा मूल्यमा विचलन आउने पनि गर्दछ । यसै तथ्यलाई ध्यान दिई वाणिज्य तथा आपूति मन्त्रालयले आफू मातहतका चारवटा सार्वजानिक सेवा प्रदायक संस्थाका सेवालाई सहुलियतदरमा सुपथ मूल्य पसलमार्फत बिक्री वितरण गर्न आजदेखि सुरु गरेको छ ।

    आसन्न बडादसैँ, तिहार, छठ पर्वलाई ध्यान दिई साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त रुपमा आजदेखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने गरी उपत्यकाभित्र नौ र उपत्यका बाहिर ६३ गरी कुल ७२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

    निजी क्षेत्रलाई मूल्य वृद्धि हुन नदिन र दैनिक उपभोगका वस्तु सहज र सरल रुपमा आम उपभोक्ताले पाउन् भन्ने ध्येयले ती पसल सञ्चालनमा ल्याइएको हो । ती पसलमा चारवटै संस्थानले बिक्री वितरण गर्दै आएका वस्तुहरू ग्यास, दाल, चालम, चिनी, नुन, तेल, घ्यू आदि रहेका छन् ।

    वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नेसनल ट्रेडिङ कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा सहुलियत दरका पसलको सुभारम्भ गरे ।

    कार्यक्रममा साल्ट ट्रेडिङ कर्पाेरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले चिनीमा प्रतिकेजी रु पाँच र नुनमा प्रतिकेजी रु दुई छुटसहित अन्य वस्तुमा छुट दिन लागेको जानकारी दिए ।

    नेपाल खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले चामलमा प्रतिकेजी रु दुई छुट दिन लागेको जानकारी दिए ।

    नेसनल ट्रेडिङ कम्पनीका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले उपकरणलगायत अन्य वस्तुमा आवश्यकताअनुसार छुट भएको बताए ।

    दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमल्सिनाले घ्यूमा प्रतिकेजी रु १० छुट दिइएको बताए ।

    वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले आम उपभोक्ताले सहज र सरल रुपमा दैनिक उपभोगका वस्तु पाउन् भन्ने ध्येयले सुपथ पसल सञ्चालनमा ल्याइएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।