भदौ ३० । एकीकृत नेकपा माओवादीका नेता पोष्ट बहादुर बोगटीको निधन भएको छ । पार्टी उपाध्यक्ष समेत रहेका बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा ६२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएको थियो । त्यसपछि खुलामञ्चमा राखिएको थियो । श्रद्धान्जली दिन प्रधानमन्त्री शुसिल कोइराला पेरिस डाँडा पुगेका थिए । यस्तै पार्टी कार्यालयमा एमाले, कांग्रेसका मन्त्री तथा नेता लगायता सरकारी अधिकारीहरु बोगटीलाई श्रद्धान्जली दिन पुगेका थिए ।
बिहीबार राति हृदयघात र मस्तिष्कघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्या गरेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
को थिए बोगटी
नुवाकोट जिल्ला तुप्चे गाविस–२ को भित्रिनिटार गाउँमा बोगटीको जन्म २०१० सालमा भएको हो । बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उनी निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका थिए ।
बुबा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त थिए । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका उनी सरल र मिलनसार स्वभावले चिनिन्थे । उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालीन सुरक्षाकर्मीको आक्रमणमा मारिए ।
बोगटीका दुई छोरीमध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य छिन् । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चार ब्यूरोअन्तर्गत प्रचारप्रसार राज्य समिति सदस्य छिन् । श्रीमती राममाया बोगटी सङ्घीय जनसम्पर्क मध्य जिल्ला सङ्गठन समितिको सदस्य एवम् अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का जिल्ला संयोजक तथा नुवाकोट काठमाडाँै सङ्घीय जनसम्पर्क मञ्चको अध्यक्षसमेत हुन् । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।
राजनीतिक यात्रा र जिम्मेवारी
समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमा राजनीतिक यात्रा सुरु गरे । विसं २०३४ मा पुष्पलाल समूहमा सङ्गठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध भए ।
संयुक्त चौथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भइसकेका थिए । विसं २०४४ तिर उनले अखिल नेपाल किसान सङ्घको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरे । त्यतिबेला बोगटीकै अग्रसरतामा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानको आन्दोलन अघि बढेको थियो । विसं २०४० मा मसालको जिल्ला सचिव भए । विसं २०४३ मङ्सिरमा क्षेत्रीय ब्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी–कर्णाली उपब्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम ब्यूरो सङ्गठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हाले ।
शान्ति प्रक्रियामा माओवादी आएपछि उनले माओवादीको पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हाले भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भूमिका निर्वाह गरे । विसं २०६९ मा हेटाँैडामा सम्पन्न एमाओवादीको एकताको सातौँ राष्ट्रिय महाधिवेशनमा बोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भए भने गत वैशाखमा सम्पन्न विराटनगर राष्ट्रिय सम्मेलनपछि उनी उपाध्यक्षको भूमिकामा क्रियाशील रहे ।
उनले २०६८ सालमा भलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्रालय सम्हाले । यस्तै, डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।
उनले पञ्चायतकाल र बहुदलकालमा पटक–पटक जेल जीवन बिताउनुभएको थियो । विद्यालयको औपचारिक अध्ययन धेरै नभए पनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असङ्ख्य पुस्तकको अध्ययन गरेका थिए । उनी पार्टीभित्र र बाहिर इमान्दार र निष्ठावान् नेताको रुपमा चिनिन्छन् । त्यसो त पार्टी राजनीतिमा उनी सधैँ अध्यक्ष पुष्पकमल दाहालको सहयोगीका रुपमा चिनिन्थे ।
Comments