काठमाडौँ, ३० भदौ । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशङ्कर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर (मर्ज भएर) बनेको प्रभु बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आयोजित कार्यक्रममार्फत उक्त चार बैंक प्रभु बैंकका रुपमा कारोबार गर्न सहमति भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या समाधानका लागि मर्जर सुधारात्मक उपायमात्र भएकाले बैंक तथा वित्तीय संस्थाले सुशासनलाई विशेष ध्यान दिनुपर्ने बताए ।
उनले माग र आपूर्तिबीचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्न निर्देशन दिए ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैंकर एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारी, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकिङ क्षेत्रमा वित्तीय सुशासनलाई पूर्णरुपमा पालना गरेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न शुभकामना दिए ।
त्यसैगरी प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रमु बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी अत्याधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मर्जरमा जाँदा प्रभु विकास बैंकसँग जगेडा कोषमा रु ३० करोड, जेनिथ फाइनान्ससँग रु चार करोड ३५ लाख र गौरीशङ्कर विकास बैंकसँग रु १० करोड ६५ लाख थियो भने किष्ट बैंकको जगेडा कोष रु ७७ करोडले ऋणात्मक थियो । हाल बैंकको चुक्तापँुजी रु तीन अर्ब आठ करोड रहेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहेका छन् । मर्जरपछि बैंकको शाखा ११२ वटा पुगेको छ भने एटिएम ११० भन्दा बढी छन् ।
Comments