काठमाडौँ, २६ भदौ । संविधानका अन्तरवस्तु र शान्ति प्रक्रियाबारे छलफल गर्न आयोजना गरिने सर्वदलीय राजनीतिक सम्मेलनको मिति तय गर्ने विषयमा विवाद भएपछि नेकपा–माओवादी सम्मिलित प्रमुख राजनीतिक दलहरूको आज बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र नेकपा–माओवादीका शीर्ष नेताहरूको सहभागिता थियो । सर्वदलीय राजनीतिक सम्मेलन कहिले गर्ने भन्ने समयको विषयमा दलहरूबीच मतैक्यता हुन नसकेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।
बैठकमा काँग्रेस र एमालेले भदौ २९ वा ढिलोमा ३१ गते र नेकपा–माओवादीले असोज २ वा नभए १ गते सम्मेलन गर्ने प्रस्ताव राखेका थिए ।
एनेकपा (माओवादी) ले भने समयभन्दा पनि राजनीतिक सहमति गर्नुपर्नेमा जोड दिएको थियो । यसअघि नै राजनीतिक सम्मेलन गर्ने सहमति गरेका दलहरूले आज सहमति नभए पनि छलफलमा उठेका सुझाव एवम् धारणालाई समेटेर कार्यदलले प्रतिवेदन प्रस्तुत गर्ने निर्णय भने लिइएको छ ।
काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सर्वदलीय राजनीतिक सम्मेलन गर्नेबारेमा कार्यविधिलगायतका ‘मोडालिटी’ बनाउन गठन भएको कार्यदलले बैठकमा प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिँदै समय निर्धारणका सन्दर्भमा भने समस्या देखिएको बताए ।
उनले सम्मेलनको मूल उद्देश्य संविधानका अन्तरवस्तु र शान्ति प्रक्रियाका सन्दर्भमा सबै दलबीच सहमति बनाउन सर्वदलीय राजनीतिक सम्मेलन गर्ने विषयमा सहमति भएको तर समय निर्धारणमा भने एकमत हुन नसकेको बताए ।
“हामीले (काँग्रेस, एमाले) असोज ३ गते प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुपर्ने भएकाले भदौ २९ गते सम्मेलन गरौँ भन्याँै, उनीहरूले (नेकपा–माओवादी) असोज नभै हुँदैन भने,” प्रवक्ता बडूले भने ।
उनले सम्मेलन छिटो हुँदा संविधानको प्रक्रिया अघि बढाउन सकिने र असोजमा लाँदा व्यस्तताले समय धेरै खाने भएकाले छिटो गर्ने प्रस्ताव गरिएको बताए ।
संविधान र शान्ति प्रक्रियाका विषयमा सर्वदलीय राजनीतिक सम्मेलन गर्ने विषयमा कार्यदलले प्रतिवेदन पेस गरेको जानकारी दिँदै एमाले उपाध्यक्ष भीम रावलले भन्नुभयो – “प्रधानमन्त्री अमेरिका जानुअघि नै ३१ गते भएपनि सम्मेलन गरौँ भन्दा नेकपा–माओवादीले असोजमा मात्र गर्न सकिने भनेकाले मिति निर्धारण हुन सकेको छैन । अब कार्यदलमा फेरि छलफल गर्दै जाने कुरा भएको छ ।”
एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले कार्यदलले फेरि छलफल गरेर सुझाव दिने कुरा भएको बताउँदै कार्यदलले सुझाव नदिइकन राजनीतिक सम्मेलनको निश्चितता भएन भने ।
“सरकार र सत्तारुढ दलहरूबीच सहमति हुन्छ भने हामीलाई भदौपछि वा जहिले भए पनि ठीक छ भन्यौँ तर मूल विषय राजनीतिक सहमतिमा आउनुप¥यो,” उपाध्यक्ष बोगटीले भने ।
नेकपा–माओवादीका सचिव देव गुरुङले राजनीतिक सभा हुने र नहुने अझै टुङ्गो नलागे पनि सामान्यतया गर्नुपर्छ भन्ने कुरा चलेको बताए । उनले शान्ति प्रक्रिया, संविधानको मुद्दा र सङ्क्रमणकालीन राजनीतिको विषयमा सहकार्य गरेर समाधान खोज्नुपर्ने बताउँदै यी विषयमा कसरी सहकार्य गर्ने भन्ने विषय तय भइसकेको छैन भने ।
सचिव गुरुङले संविधानका विषय सर्वपक्षीय भेलाबाट गर्ने कुरा भए पनि शान्ति प्रक्रिया र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापन कसरी गर्ने भन्नेमा कार्यदलले मोडालिटी तयार गर्नेबारे छलफल भएको जानकारी दिए ।
सचिव गुरुङले भने– “सम्मेलन गर्नेमा हामीले असोज २ गते भन्याँै, उहाँहरूले भदौ २९ गते भने । पछि हामीले असोज १ गते भन्याँै उहाँहरूले भदौ ३१ गतेसम्म हुन सक्छ । त्यसकारण कहिले गर्ने भन्नेमा टुङ्गो लागेको छैन ।” उनले व्यावहारिक काम र कार्यक्रमको चापका कारण आफूहरूले १ गतेको समय प्रस्ताव गरेको र यसमा अरू केही कारण नरहेको बताए ।
सोही क्रममा सरकार र साना दलहरूबीच पनि संविधानका प्रावधानहरूमा सहमति खोज्नेलगायतका विषयमा परामर्श भएको जनाइएको छ ।
Comments