किरण भट्टराई
काठमाडौँ, २५ भदौ । वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटनामा परी घाइते भएका एक नेपाली युवाबारे फ्रान्सको टेलिभिजनमा समाचार प्रशारण भएपछि उनको उपचारका लागि फ्रान्सेली नागरिकले रु पाँच लाख २५ हजार सहयोग गरेका छन् ।
चौँतीस वर्षीय चन्द्रप्रसाद पौडेलको आठ महिनाअघि कतारमा भएको सडक दुर्घटनामा गाडीले उहाँको खुट्टा माथिबाट कुल्चँदै गएदेखि हालसम्म दुवै खुट्टा नचल्ने अवस्थामा छ ।
कतारमा रोजगारीमा गएका नेपालीले पाएका दुःखबारे फ्रान्सको ‘फ्रान्स २’ च्यानलका लागि फ्रान्सेली पत्रकार पियर मोनेजियर र नेपाली पत्रकार भोजराज भाटले संयुक्तरुपमा तयार पारेको २९ मिनेटको रिपोर्ट सो टेलिभिजनमा प्रशारण भएपछि फ्रान्सेली नागरिकले पौडेलको उपचारका लागि सो रकम उठाएर नेपाल पठाएका हुन् ।
नागरिकबाट प्राप्त रकममा समाचार बनाउने फ्रान्सेली पत्रकार पियरले समेत आफ्नो तर्फबाट रु एक लाख थपेर रकम नेपाल पठाइ दिनुभएको हो ।
रकम प्राप्त भएसँगै पौडेलेको आइतबार जोरपाटीस्थित ‘नेपाल अर्थोपेडिक अस्पताल’ मा एउटा खुट्टाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रियापछि खुसी हुँदै पौडेलले भन्नुभयो–“अहिले एउटा खुट्टाको मात्रै शल्यक्रिया भएको छ, केही समयपछि अर्को खुट्टाको शल्यक्रिया गर्ने डाक्टरले भनेका छन् । अब हिँड्न सक्ने आशा पलाएको छ ।”
आफू कार्यरत संस्थाकै कामको सिलसिलामा कतारको अल्खोरमा उहाँ घाइते भएपछि संस्थाले केही दिनको उपचारपछि रु ६० लाख क्षतिपूर्ति दिने र सो रकम नेपाल पठाइदिने भन्दै उहाँलाई नेपाल पठाइदियो ।
क्षतिपूर्ति रकम आउला र थप उपचार गरौँला भनि कुरेर बसे पनि रकम नआउँदा उहाँ घाउ बोकेर निरसाको जीवन बिताइरहनु भएको थियो ।
उहाँले भन्नुभयो– “कतार फोन गर्दा कम्पनीले मलाई कतार पठाउने म्यानपावर सुपथ सोलुसन सिनामङ्गलमा पैसा पठाइदिइसके भन्छ, म्यानपावरमा गयो पैसा आएको छैन भन्दै मलाई झुलाइरहे । ”
रकमको अभावमा उपचार गर्न नपाएपछि ह्विलचेयरमै हिँड्ने, त्यहीँ दिसा पिसाब गर्ने गरी उहाँले जीवन बिताइरहनुभएको थियो ।
स्थायी ठेगाना रामेछाप भई काठमाडौँ कोटेश्वरको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा १९ वर्षदेखि बसिरहनुभएका पौडेलका १४ र ९ वर्षका गरी दुई छोरा छन् ।
अस्पतालमा रहेको पौडेलले भन्नुभयो– “जिन्दगी सिद्धियो, पैसा छैन, सहयोग गर्नुको साटो घर परिवारलाई बोझ मात्रै भए भन्ने सोँच्दै जिन्दगी बिताइरहेको थिए, अहिले रकम आएर उपचार गर्न पाएपछि खुसीको सीमा छैन ”
उहाँले उपचार गराइरहेको अस्पतालकै नाममा फ्रान्सबाट अहिल रु पाँच लाख २५ हजार आएको छ, रकम अभाव भए थप सहयोगको आश्वासन पनि आफूले पाएको पौडेलले बताउनुभयो ।
उपचारमा संलग्न चिकित्सक युवराज खरेलले दुर्घटना भएको समय लामो भइसकेकाले खुट्टा निको हुन केही कठिनाइ पर्ने भएपनि आपूmहरूले सक्दो पहल गरिरहेको बताउनुभयो ।
उहाँले अहिले दाहिने खुट्टाको बोनम्यारोको शल्यक्रिया गरेको र सो क्रममा कम्मरको हड्डीको सानो टुक्रा झिकेर पौडेलको खुट्टामा राखिएको जानकारी दिनुभयो ।
पौडेलकी श्रीमती सन्तोषी पौडेल उपचारपछि पति ह्विलचियर छोडेर कम्तिमा हिँड्न सक्ने भएमात्रै पनि आफूहरू धन्य हुने भन्दै सहयोगदातालाई धन्यवाद दिनुभयो । रासस
Comments