भदौ ३ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायहरूलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो, अनियमितता, भ्रष्टाचार, विसङ्गति कहीँ कतै देखिएमा तत्काल कारबाही हुने पनि बताएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौं स्थापना दिवसका अवसरमा कार्यालयका गतिविधिबारे जानकारी दिन प्रधानमन्त्री निवास पुगेका कार्यालयका उच्च अधिकृतहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले विकास निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न अनुगमन गर्न निर्देशन दिए ।

उनले विकास निर्माण कार्यमा देखिने विकृति रोक्न पनि निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री कोइरालाले जनतालाई छिटो छरितो सेवा दिएमा सुशासन कायम हुने बताए ।

कार्यालयका कामु सचिव टङ्कमणि शर्माले सार्वजनिक खरिद सम्बन्धमा रहेका ऐन तथा नीतिमा समयानुकूल परिमार्जन गर्न र खरिद प्रक्रियालाई सरल बनाउँदै लान सुझाव दिएका थिए ।

ठूला खरिदमा लागत एवम् गुणस्तर ठीक छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक रहेको उनले बताए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले कार्यालयद्वारा आजदेखि सञ्चालनमा ल्याउन लागेको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युरमेन्ट पोर्टलको शुभारम्भ पनि गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।