विराटनगर, २० माघ । प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् ।
प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराए ।
सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उहाँले जानकारी गराए ।
सो बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ र सभामुखलाई सहयोग गर्नका लागि अध्यक्षता मण्डलको आवश्यकता रहेकाले पाँच सदस्यीय एउटा समिति पनि गठन गरेको छ । सो समितिमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एकजना प्रदेशसभा सदस्य रहने निर्णय गरिएको हो ।
त्यस्तै, माघ २२ गते प्रदेशसभा सञ्चालन हुनका लागि प्रदेश प्रमुखको पत्र पढिनेछ र त्यसपछि, प्रदेशसभामा छ दलका एक÷एकजना प्रदेश सदस्य र एक स्वतन्त्र सदस्यले शुभकामना मन्तव्य दिनेछन् ।
शुभकामना मन्तव्य दिनु हुनेमा नेकपा (एमाले) का भीम आचार्य, नेपाली काँग्रेसका केदार कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुबहादुर तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र स्वतन्त्र नारायणबहादुर मगर छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।