भक्तपुर, २५ साउन । जनैपूर्णिमाको अवसरमा आइतबार बिहानै भक्तपुरका किसानले खेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।
वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन् । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।
खेतमा किरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसानहरू बताउँछन् ।
रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।
Comments