काठमाडौँ, २५ साउन । उपचारका क्रममा आइतबार नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको भारतमा निधन भएको छ ।
श्रेष्ठको नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा आज बिहान ५ बजे निधन भएको हो निमोनियाको सङ्क्रमण देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
गत असार २३ गते नायिका श्वेता खड्कासँग विवाहबन्धनमा बाँधिएका श्रेष्ठ मधुमास मनाउन भारतको सिमला पुगेका थिए ।
चलचित्र निर्देशक आकाश अधिकारीले दिएको जानकारीअनुसार श्रेष्ठलाई एक हप्ता पहिला बोन क्यान्सर देखिएको थियो, उनको पहिलो किमो लिएको र हिजो दोस्रो किमो लिन नसकेपछि निधन भएको हो ।
निर्देशक अधिकारीले स्वर्गीय श्रेष्ठको शव ल्याउनका लागि कूटनीतिक पहल भइरहेको छ । आज गङ्गाराम अस्पतालमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्ण ढकाल पुगेका छन् ।
श्रेष्ठका परिवार तथा आफन्त अस्पतालमा पुगेकाले परिवारको निर्णयअनुसार भोलि बिहान शव काठमाडौँ ल्याइने उनले बताए । शव नेपाल ल्याउन चलचित्र कलाकारले आज तीनजना मन्त्रीसँग आग्रह गरेका छन् ।
श्रेष्ठको शव विमानस्थलबाट श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ ।
श्रेष्ठद्वारा अभिनित पछिल्लो चलचित्र ‘कोहिनुर’ हाल प्रदर्शन भइरहेको छ । पछिल्लो समय उनको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहिनुर’ यही साउन २३ गतेबाट हलहरूमा प्रदर्शन भइरहेको छ ।
विसं २०४९ मा ‘भूमि’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले नायकको रूपमा ‘नाता’ चलचित्रबाट यात्रा अघि बढाएका थिए ।
चलचित्र क्षेत्रका निकै मिलनसारका रूपमा परिचित श्रेष्ठले आफन्त, आफ्नो मान्छे, सुखदुःख, ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, कहाँ भेटिएलाजस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।