भक्तपुर, २३ साउन । दलीय प्रतिनिधिहरूसँग कुनै छलफल नै नगरी विभिन्न सेवामा ४० प्रतिशतदेखि ९०० प्रतिशतसम्म राजस्व वृद्धि गरेको भन्दै आठ दलले मध्यपुरथिमि नगरपालिका घेराउ गरेको छ ।
नगरपालिकाको मुख्यद्वारमै बसेर नाराबाजी गर्दै घेराउ गरेपछि नगरपालिकाको कामकाज ठप्प भएको छ ।
नगरपालिकासँग सातबुँदे माग राख्दै विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा गत जेठदेखि सुरु गरेको चरणबद्ध आन्दोलनका क्रममा आज नगरपालिका घेराउ गरिएको संयुक्त आन्दोलन समितिका संयोजक एवम् एमाले मध्यपुर नगरसमितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
गत माघ महिनामा सम्पन्न नगरपरिषद्बाट नगरपालिकाले दलीय प्रतिनिधिसँग छलफल नै नगरी एकलौटी रुपमा राजस्व वृद्धि गरेको आरोप लगाउँदै दलहरूले पटकपटक वृद्धि भएको राजस्व खारेज गर्न माग गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर नगरपालिकाको कामकाज ठप्प पारेर आन्दोलन गर्नुपरेको बताएका छन् ।
नेकपा एमाले, एमाओवादी, राप्रपा, नेमकिपा, नेकपा–माओवादी, नेकपा (माले), सङ्घीय समाजवादी पार्टी र राप्रपा नेपालले २३औँ नगरपरिषद्बाट वृद्धि गरिएको राजस्व दरलाई खारेज गरेर दलीय सहमतिमा करहरूमा परिमार्जन गर्नुपर्र्ने, साउन महिनाभित्र २४औँ नगरपरिषद् आह्वान गर्नुपर्ने, विकास निर्माणको काममा उपभोक्ताबाट काम गर्दा २० प्रतिशत राख्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, नक्सापासमा संहिता बनाउनुपर्ने, मापदण्ड विपरीत भइरहेको निर्माण कार्यलाई रोक्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, सांस्कृतिक संरक्षणका कार्यक्रम ल्याउनुपर्ने माग गरिआएका छन् ।
यता नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले भने २३औँ नगरपरिषद्ले वृद्धि गरेको करलाई नगरपालिकाले परिमार्जन गरेर घटाइसकेको जानकारी दिए ।