चरीलाई सुनियोजितरुपमा मारिएको देखिन्छ : ओली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीतापाइला–भीमढुङ्गामा बुधबार प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका दिनेश अधिकारीको घटनाको प्रकृति हेर्दा सुनियोजित जस्तो देखिएको बताएका छन् । 
एमाले केन्द्रीय कार्यालय मदननगरमा पुगेका  धादिङका सभासद् गुरुप्रसाद बुर्लाकोटी, राजेन्द्रप्रसाद पाण्डे, गङ्गालाल तुलाधर र  हरिबहादुर घले, एमाले धादिङका कावा अध्यक्ष भूमि त्रिपाठीसहितको टोलीसँग उनले सो घटनाका लागि संसदीय छानबिन समिति निर्माण गर्नुपर्ने र त्यसका लागि पार्टीले पहल गर्ने बताए । अध्यक्ष ओलीले भने–“म चरी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।”
सभासद् बुर्लाकोटीले अधिकारी मारिएको घटनास्थलमा एक थोपा पनि रगत नदेखिएकाले प्रहरीले सुनियोजित तरिकाले मारेर त्यो ठाउँमा लगेर फालिएको जस्तो देखिएको बताउँदै संसद्मा पनि आफूहरुले कुरा उठाएर ‘संसदीय छानबिन समिति’ गठन  माग गरेको र त्यसका लागि पार्टीले पहल गर्नुपर्नेमा जोड दिए ।
एमाले जिल्ला अध्यक्ष त्रिपाठीले धादिङ क्षेत्र नं १ मा पूर्वउपाध्यक्षसमेत रहनुभएका अधिकारीको दोहोरो भिडन्तमा नभई नियोजित तरिकाले मार्ने उद्देश्यका साथ हत्या भएको र घटनाको प्रकृति हेर्दा पनि मारेर फालिएको जस्तो देखिएको बताए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।