चौतारा, २१ साउन । जुरेको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्गको डेढ किमि भाग पूर्णरुपमा क्षति भई यातायात अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गर्न अध्ययन भइरहेको छ ।

माङ्खा– १ को ड्याम साइडदेखि माथिको डेढ किमि सडक पूर्णरुपमा क्षति भएपछि सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीको नेतृत्वमा स्थलगत निरीक्षण गर्न आएको टोलीले वैकल्पिक सडक खुलाउने बारेमा अध्ययन गरिरहेको हो ।

टोलीमा विभागका उप–महानिर्देशकद्वय केशव शर्मा र अर्जुन थापाको पनि सहभागिता थियो । कृतिम रुपमा नियमित तलाउको पानी ५० प्रतिशत कम भयो भने तीन दिनपछि साविककै रुटबाट ट्रयाक खुलाइने टोलीमा सहभागी डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर अरुणकुमार श्रीवास्तवले बताउनुभयो तर सो स्थानमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएको र त्यहाँको भू–भागसमेत अति कमजोर देखिएकाले ट्रयाक खुलाए पनि दिगो नहुनुका साथै भयमुक्तरुपमा यात्रा गर्न नसकिने स्थानीयवासी बताउँछन् ।

  यदि त्यहाँ सम्भव नभए लामोसाँघु जिरीअन्तर्गत २१ किमिमा पर्ने शिलढुङ्गा–पिस्कर–तौथली–सुनकोसी ग्रामीण सडक वा खरिढुङ्गा–पिस्कर–धुस्कुन–सुनकोसी ग्रामीण सडकमध्ये एउटालाई मर्मत गरी यातायात खुलाउने बारेमा अध्ययन भइरहेको इन्जिनियर श्रीवास्तवले जानकारी दिए ।

ती दुई सडक लामो पर्ने भएकाले ड्याम सइडबाट टेकानपुरसम्म गएको सडकमा थप दुई किमि सडक निर्माण गरी दाबीखोला र सुनकोसी नदीमा अस्थायी पुल बनाउन सके सुनकोसी बजार हुँदै तातोपानीसम्म यातायात सुचारु हुने स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले बताए ।

इन्जिनियर श्रीवास्तवका अनुसार प्रभावित क्षेत्रमा दुई जना इन्जिनियरसहित लोडर र स्काइभेटर तैनाथ गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।