कैलाली, २० साउन । सुगम जिल्लाको सूचीमा रहेको कैलालीमा करिब ३३ प्रतिशत महिलाले अहिलेसम्म पनि नियमित गर्भ जाँच नगराउने गरेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार हालसम्म ३३ प्रतिशत महिलाले भौगालिक अवस्था, पारिवारिक वातावरण र जनचेतनाको अभावका कारण नियमित गर्भ जाँच गराउँदैनन् ।

नियमित गर्भ जाँच नगराउनेमा कैलालीका दुर्गम पहाडी गाविसका महिला बढी रहेको कार्यालयकी अधिकृत तारादेवी तामाङको भनाइ छ । सरकारले आमा सुरक्षा कार्यक्रममार्फत चारपटक गर्भ जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप रु ९०० दिने भने पनि ग्रामीण क्षेत्रमा आकर्षण बढ्न नसकेको तामाङको बुझाइ छ ।

सहरी क्षेत्रमा यातायातको व्यवस्थाका कारण महिलाहरू स्वास्थ्य संस्थामा आए पनि ग्रामीण क्षेत्रमा भौगालिक अवस्था र पारिवारिक चेतना मुख्य बाधक रहेको कार्यालयका निमित्त प्रमुख एवम् लेखा अधिकृत दामोदर जोशीले बताए ।

जिल्लामा रहेका सात पहाडी गाविसमा धेरै महिलाले घरमै बच्चा जन्माउने गरेको र उनीहरूले नियमित गर्भ जाँच नगरेको बताइएको छ । आर्थिक वर्ष २०७०÷७१ मा सुत्केरी हुन स्वास्थ्य चौकीमा पुगेका महिलाको सङ्ख्या छ हजार ५६४ रहे पनि दुई हजार २०१ जनाले नियमित गर्भजाँच नगराएको कार्यालयले जनाएको छ ।

जिल्लाका ३७ वटा प्रसूति केन्द्रमध्ये सबैभन्दा बढी बलिया र सबैभन्दा कम पहाडी गाविस पण्डौनमा महिलाहरूले प्रसूति सेवा लिने गरेका छन् । गएको वर्ष बलियामा ५८७ मा २०८ जना र पण्डौनमा २२ जनामा १६ जनाले नियमित गर्भजाँच नगराएको सुरक्षित मातृत्व फाँटको तथ्याङ्कले देखाउँछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।