दिप बहादुर घर्ति
 जाजरकोट २० साउन । सरकारले दुर्गम र स्थानीय भत्ता काटेको विरोधमा आन्दोलनमा उत्रिएका जाजरकोटका शिक्षक, कर्मचारीहरुले जिल्लाका सरकारी कार्यालय र  विद्यालयहरुको काम ठप्प पारेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार नै शिक्षक, कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन ।

 ६ दिन देखि आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरुले काटिएको स्थानीय र दुर्गम भत्ता फिर्ताको माग गर्दै उनीहरुले मंगलवार सरकारी कार्यालयको काम ठप्प राखे भने  शिक्षकहरुले विद्यालयमा पठनपाठन वन्द गरे ।
शिक्षक कर्मचारीको पेनडाउनका कारण जिल्लाका ४३२ वटा विद्यालयमा पढाइ भएन भने  तीन दर्जन वढी सरकारी कार्यालयमा सेवाग्राहीका कामहरु हु सकेनन् ।

शिक्षकहरुले नपढाएपछि जिल्लाका ८३ हजार विद्यार्थीहरुको पढाइ  अलपत्रमा परेको छ भने ६ दिन देखि कर्मचारीले काम गर्न छोडेपछि सर्वसाधारणहरु मर्कामा परेका छन् । विद्यालयमा विद्यार्थी जाने तर पढाइ नहुने गरेपछि  विद्यार्थीहरुको पढाइ अलपत्र परेको हो ।

स्कुल आयो तर पढाइ हुदैन किन हो सरहरु आन्दोलन छ पढाउदिनौं भन्नु हुन्छ, त्रिभुवन उच्च माविको कक्षा १० मा पढ्ने राजन मल्लले भने । उनले सरहरुको आन्दोलनकै कारण भन्दै एक हप्ता सम्म विद्यालय नै वन्द भएको वताए । कहिले धर्ना, कहिले जुलुस, कहिले पेनडाउन लगाएतका कार्यक्रममा कर्मचारीहरु व्यस्त हुने थालेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन् । कर्मचारी र शिक्षकको आन्दोलनले जिल्लामा सर्वसाधारणहरु निकै मर्कामा पर्दै आएको स्थानिय वीर बहादुर खड्काले वताए । उनले सेवाग्राहीका अति जरुरी काम पनि कर्मचारीले गर्न नमानेकोे भन्दै यस तर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको वताए । ३ दिन भन्दा वढीको पैदल दुरी हिडेर सदरमुकाममा आएका सर्वसाधारणहरु कर्मचारीले काम नगरेपछि हैरानीमा परेको उनको भनाइ छ ।

मंगलवार  विहान १० देखि ५ वजे सम्म पेन डाउन भन्दै उनीहरुले सकारी काम र पठनपाठनका कामहरु ठप्प पारेका हुन् । सामान्य रुपमा गरेको आग्रह र आन्दोलनलाइ सरकारले सुनुवाइ नगरेको भन्दै कडा खाले आन्दोलन गर्नु परेको संयुक्त  राष्ट्रसेवक कर्मचारी संघर्ष समिती संयोजक राजवहादुर सिंहले वताए । उनले  आफुहरुको  न्यायपुर्ण  र तर्कसंगत मागको  सुनुवाइ नगरे अझ कडा र सशक्त आन्दोलन गरिने वताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।