काठमाडौँ, १४ साउन । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हालै सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिबारे व्यवस्थापिका–संसद्को बैठकलाई आज जानकारी गराएका छन् ।
मन्त्री पाण्डेले यही साउन १८ र १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने र त्यसका लागि सरकारले सबै प्रकारका तयारी गरेको सम्बन्धमा अवगत गराए ।
यही साउन १० गते भएको सो आयोगको बैठक २३ वर्षपछि भारतका विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा काठमाडौँमा हुनु दुई देशको सम्बन्ध र सहयोग विस्तारका लागि दिशानिर्देश भएको धारणा राखे ।
सभासद्हरुले आयोगको बैठकबारे जानकारी माग गरेपछि सभामुख सुवास नेम्वाङले त्यसबारे संसद्लाई जानकारी गराउन ‘रुलिङ’ गरेका थिए ।
बैठकमा राजनीतिक सुरक्षा र सीमा तथा सन् १९५० को नेपाल–भारत शान्ति र तथा मैत्री सन्धिको पुनरावलोकलनका लागि दुई देशका सचिवस्तरमा छलफल गरी सिफारिस गर्नेलगायतका सहमतिका बुँदाबारे मन्त्री पाण्डेले जानकारी गराए ।
भारतमा नयाँ सरकार गठन भएपछि नेपालमा उक्त बैठक सम्पन्न हुनुले दुई देशबीचको सम्बन्ध प्रगाढ बढाउने, ऊर्जा र जलस्रोतमा थप सम्झौता गर्नेजस्ता सहमति हुनु उपलब्धिमूलक भएको पनि पाण्डेले बताए ।
मन्त्री पाण्डेले काठमाडौँ–तराई द्रूतमार्गमा निजी क्षेत्रको घाटापूर्तिका लागि सहयोग, पूर्व–पश्चिम राजमार्ग, महाकाली नदीमा मोटरयोग्य पुल निर्माण, व्यापार–पारवहनजस्ता आयोजना र कार्यका लागि सहयोग तथा सहजीकरण गर्न भारतीय पक्ष सहमत भएको बैठकलाई अवगत गराए ।
विदेश मन्त्री स्वराजको भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको वातावरण तयार गरेको तथा दुई देशबीचको सम्बन्धमा थप विश्वास तयार गरेको मन्त्री पाण्डेले बताए ।
उनले भारतीय प्रधानमन्त्रीले संसद्को बैठकलाई सम्बोधन गर्ने, उच्चस्तरीय भेटघाट गर्ने, पशुपतिनाथको दर्शन गर्ने जानकारी गराए ।
पाण्डेले १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनु वर्तमान सन्दर्भमा विशेष महत्वको भएको भन्दै दोस्रो संविधानसभापछि नेपालको दिगो विकासका लागि र राष्ट्रहितका लागि सक्षम सरकार रहेकाले पनि भ्रमणलाई नेपालको हितमा उपलब्धिमूलक बनाउन सरकार प्रयत्नशील रहेको स्पष्ट गरे ।
उनले १७ वर्षपछिको भारतीय प्रधानमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने, नेपाल र भारतबीचको उच्च राजनीतिक महत्व र सम्पर्क विस्तार हुने र मोदीले छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिएको द्योतकका रुपमा भ्रमणलाई लिन आग्रह गरे ।
Comments