१३ साउन । महोत्तरी जिल्लास्थित गाविसको बजेट अनियमितता गरेको आरोपमा यस जिल्लाका विभिन्न १६ वटा गाविसका सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

जनताका लागि आएको बजेट दुरुपयोग गरेको आरोपमा महोत्तरीका १६ जना गाविस सचिवमाथि आयोगले छानबिन सुरु गरेको हो ।

यसरी अख्तियारको कार्वाहीमा परेका गाविस सचिवमा राम नारायण झा, देवनारायण यादव, मुकेश झा, त्रिभुवन सिंह, रामतपेश्वर साह, हरिनारायण महतो, राजेन्द्र साह, भोगेन्द्र झा, शिवचन्द्र पाण्डे, शिवराम पाण्डे, रामदयाल मण्डल, देवचन्द्र विच्छा र प्राविधिक सहायक भानुभक्त ढुङ्गाना रहेको बर्दिवासमा अवस्थित आयोगको सम्पर्क कार्यालयले जानकारी गराएको छ ।

अख्तियारको कारबाहीको सूचीमा रहेको तथा विवादित छवि भएको भएपनि उनीहरूमध्ये अधिकांश सचिवलाई जिल्ला विकास समिति महोत्तरीले थप कामका लागि एकभन्दा बढी गाविसको कार्यभार सुम्पेको छ ।

ती सचिवमाथि सामाजिक सुरक्षा भत्ता र स्थानीय विकास निर्माणका बजेट हिनामिना गरेको आरोपमा छानबिन सुरु गरिएको सम्पर्क कार्यालयका एक कर्मचारीले बताए ।

सम्पर्क कार्यालयले कारबाहीमा परेका सचिव र सम्बद्ध गाविसको आवश्यक कागजात जिल्ला विकास समितिसँग माग गरिसकिएको र कागजात आउनासाथ चाँडै निष्कर्षमा पुगिने सो कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।