काठमाडौं ११ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश वक्ता सभासद्ले जलविद्युत् आयोजनाका लागि भारतसँग भएको सम्झौताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले आयोजनाका लागि आएका प्रस्ताव अध्ययन गरेर आफ्ना पक्षमा छन्छै/नन् हेरेर सम्झौता गर्न आग्रह गरेका छन् ।
सभासद् रवीन्द्र अधिकारीले इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमणको निन्दा गर्न सदनको ध्यानाकर्षण गर्दै संसारका मानवतावादीका लागि यो बर्बरताको विषय भएकाले गम्भीरताका साथ सोच्नुपर्ने बताएका छन । उनले संयुक्त राष्ट्र सङ्घ सो विषयमा निरीह भएको आरोप लगाउँदै युद्ध रोकी वार्ता तथा संवादबाट अघि बढ्नुपर्ने औँल्याए ।
सभासद् एकनाथ ढकालले विश्व शान्तिमा प्रतिबद्ध रहेको नेपाल इजरायल र प्यालेस्टाइनबीचको युद्धले प्यालेस्टाइनीका निर्दोष जनता युद्धको चपेटामा परी हजाराँैले ज्यान गुमाउनु परेको र थुप्रै नागरिक विस्थापित हुन पुगेकाले शान्ति स्थापनाका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।
सभासद् उपेन्द्र यादवले विगतमा कोसी नदीको कटानबाट कोसी टप्पु क्षेत्रमा रहेका प्रभावित गरिब किसानले अझैसम्म राहत नपाएको, तिनलाई पुनर्वासका नाममा करोडौँ रकम भ्रष्टाचार हुँदा पनि पीडित परिवारको पुनर्वासको व्यवस्था हुन नसकेकाले सुरक्षित बसोबासको व्यवस्था मिलाउन जोड दिए ।
सभासद् जितेन्द्रनारायण देवले नेपालले विदेश नीतिलाई सदुपयोग गर्न नसकेको र जलस्रोतमा लगानी बढाउन नसकेको आरोप लगाउँदै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा गम्भीर भएर नेपालको हितमा सम्झौता गर्न सुझाव दिए ।
सभासद् राधादेवी तिमल्सिनाले नेपालले विद्युत्भार कटौती व्यहोर्नुपरेको अवस्थामा ध्यान दिन र सरकारमा रहेका नेताले भारतसँग नझुकी राष्ट्रिय महत्वका सन्धिसम्झौता सहमतिका आधारमा पूरा गर्न आग्रह गरे ।
सभासद् चित्रबहादुर केसीले संसद्को परिसरमा बैठक नबसेको अवस्थामा समय बिताउन पुस्तकालयमा अध्ययन गर्दा टेबलमै बसेर फोन उठाउँदा अन्य सभासद्लाई अप्ठेरो परेको र एउटा सभासद्ले बोल्दा अर्को सभासद्ले मर्यादा विपरीत बाटो काटेर हिँड्ने गरेकाले सभासद्लाई अभिमुखीकरण तालिम दिन र सुरक्षकर्मीलाई पनि समानरूपले भत्ता दिन आग्रह गरे ।
Comments