दरबार क्षेत्रमा रहेको फुटपाथ व्यापार तथा पार्किङ हटाएर आन्तरिक र बाह्य पर्यटकलाई घुमफिरमा सहजता प्रदान गर्न स्थानीयवासीको अग्रसरतामा ‘सम्पदा संरक्षण सङ्घर्ष समिति’ गठन गरिएको छ ।
काठमाडौँ महानगरपालिका र प्रशासनले फुटपाथ व्यापार तथा पार्किङ हटाउन प्रयास गर्दा पनि सफल नभएपछि स्थानीयवासीको सहयोगमा उक्त काम सुरु गरेको समितिका प्रचारप्रसार संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिए ।
दरबार परिसर वरिवरि जथाभावी फुटपाथ व्यापार तथा पार्किङ गर्नाले सो क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई घुमफिर गर्न निकै समस्या भएको थियो ।
महानगरपालिका र प्रशासनले पटकपटक व्यापार तथा पार्किङ हटाउने प्रयास गर्दा पनि अटेर गरी जथाभावी व्यापार तथा पार्किङ गर्ने गरेको बताउँदै उनले भने, “जथाभावी गर्दै आएको व्यापार तथा पार्किङले त्यहाँको वातावरण नै प्रदूषण बनाएको थियो । त्यसैले त्यहाँको सौन्दर्य कायम राख्न बिहान र बेलुका पार्किङ र फुटपाथ व्यापार हटाउँदै आएका छौँ ।”
सो क्षेत्रमा अहिले व्यापार तथा पार्किङ हटाउन थालेपछि भीडभाड तथा सडक जाममा कमी आएको छ ।



