काठमाडौँ, २७ असार । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज साँझ ५ बजेदेखि मतदान सुरु भएको छ ।
मतदाता परिचयपत्र र मतपत्र छपाइमा सयम लागेका कारण आज बिहानदेखि सुरु गर्ने भनिएको मतदानमा ढिलाइ भएको हो । आज रातभर निर्वाचन हुन सक्नेछ । मतदानका लागि पङ्क्तिमा रहेकाहरुलाई अबेरसम्म मतदान गराइने भएको छ ।
मतपत्रमा पार्टी प्रमुख निर्वाचन आयुक्त सोमनाथ अधिकारी प्यासीले हस्ताक्षर गरिसक्नुभएकाले मतदान सुरु गरिएको केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताए ।
पहिलो मतदान पार्टीका अध्यक्ष झलनाथ खनाल, अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गरेका छन् ।
मतदाता परिचयपत्रमा अध्यक्ष झलनाथ खनाल र दुई समूहका तर्फबाट भीमबहादुर रावल र विष्णुप्रसाद पौडेलको हस्ताक्षर गराइएको छ ।
अध्यक्षका प्रत्याशी नेपाल र ओली अहिले महाधिवेशनस्थलभित्र छन् । कुल १५९ सदस्यीय केन्द्रीय कमिटीमा दुई समूहले सबै पदमा तथा केन्द्रीय र वैकल्पिकमा गरी १४ जनाले स्वतन्त्र (व्यक्तिगत) उम्मेदवारी दिएका छन् । मतदान सकिएलगत्तै मतगणना हुनेछ ।