धनगढी, २५ असार । सामुदायिक मेलमिलाप केन्द्र नारायणपुर (कैलाली)को पहलमा परिवार र व्यक्ति–व्यक्तिबीच सिर्जना भएका ३५ वटा विवाद मेलमिलापद्वारा समाधान गरिएको छ ।
गत कात्तिकमा स्थापना भएको सो केन्द्रमा यो अवधिमा विभिन्न खालका ४६ वटा विवाद दर्ता भएकोमा ३५ वटाकोे मेलमिलापद्वारा समाधान गरिएको संस्थाका अध्यक्ष अर्जुन नेपालीले बताए ।
विवाद दर्ता भएपछि संस्थाले विवाद उत्पन्न गराउने सम्बन्धित पक्षलाई केन्द्रमा नै बोलाएर आपसी छलफलद्वारा समाधनको बाटो खोज्ने गरेको छ ।
“विसं २०३६ देखिका समाधान हुन नसकेका जग्गासम्बन्धी र बाटो मिचेको भन्ने विवादहरू संस्थाको पहलमा समाधान गर्न सकेका छौँ” नेपालीले भने “निःशुल्करुपमा भइरहेको यो सेवाबाट समाजमा केही हदसम्म द्वन्द्व निवारणमा टेवा पुगेको महसुस गरेका छौँ ।”
यो अवधिमा सबैभन्दा बढी अंशबन्डासम्बन्धी १३ विवाद, घरेलु हिंसा र आपसी लेनदेनका १०/१० वटा र जग्गासम्बन्धी आठ विवाद संस्थामा दर्ता भएका थिए ।
ज्यालासम्बन्धी तीन वटा विवाद सम्बन्धित पक्षको अनुपस्थितिका कारण मिल्न नसकेको र बाँकी अन्य विवाद मेलमिलापको प्रक्रियामा रहेको बताइएको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहयोगमा समुदायमा सिर्जना हुने विभिन्न खाले विवाद एवम् झै–झगडाको मेलमिलापद्वारा समाधान गरी शान्तिपूर्ण समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । रासस