नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग औपचारिक रुपमा नै सरकार र पार्टीको नेतृत्वमध्ये एक पद मागेको छ । सरकारको नेतृत्व र पार्टी नेतृत्वबारे मौन जस्तै रहदै आएको माओवादी केन्द्रले औपचारिक रुपमा नै दुई मध्ये एउटा आफूले पाउनुपर्ने माग गरेको हो ।
माओवादी केन्द्रले नेकपा एमाले पहिलो पार्टी बनेकाले सरकार वा पार्टीको नेतृत्वमध्ये एउटा रोजेर लिनुपर्ने र दोस्रो माओवादी केन्द्रलाई दिनुपर्ने निचोड निकालेको हो ।
पार्टी एकताको विषयमा पावर सेयरिङका विषयमा विभिन्न टिका टिप्पणी हुँदै आएकोमा माओवादी केन्द्रकाे मंगलबार बसेको पार्टी सचिवालय बैठकले औपचारिक रुपमा नै सरकारको नेतृत्व एउटा पार्टी र पार्टीको नेतृत्व अर्को पार्टीले हुने गरी बाँडफाँड गर्नुपर्ने निर्णय गरेको हो ।
निर्वाचन लगत्तै पार्टी एकता गरेर अघि बढ्ने निर्णय गरेका दुई दल पार्टी एकता गर्ने तयारीमा छन् । दुई दल शिर्ष तहमा एकताको मोडल तथा विचार र सिद्धान्तका विषयमा छलफलमा रहेपनि एकता संयोजन समितिको बैठक बोलाउने तयारी छ ।
निर्वाचनपछि दोस्रो पटक बसेको माओवादी केन्द्रीय कार्यालय सदस्यहरुको बैठकले पार्टी एकता चाँडो गरेर जानुपर्ने तर न्यायोचित रुपमा गरिनुपर्ने निचोड निकालेको नेता अग्नि सापकोटाले जानकारी दिए ।
नेता सापकोटाले दुई पार्टीबिच एकता हुने भएकाले एउटा अध्यक्षले सरकारको र अर्को अध्यक्षले पार्टीको नेतृत्व लिनुपर्ने बैठकको निष्कर्ष रहेको बताए । ‘ठूलो पार्टी भएकाले दुई मध्ये एमालेले कुन रोज्ने हो रोज्नुपर्छ, सरकार र पार्टी नेतृत्वमध्ये दोस्रो हामीले पाउनुपर्छ, नेता सापकोटाले भने, ‘यसरी बढ्दा दुवैको सम्मान जनक हुन्छ ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पार्टी एकता, सरकार गठन लगायत पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ गरेका थिए ।
सो क्रममा पार्टी सरकार गठन र पार्टी नेतृत्वको विषय सम्मान जनक हुने गरी छलफल अघि बढीरहेको बताएका थिए । दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण एकता संयोजनक समितिको बैठक बस्न नसकेको समेत जानकारी गराएका थिए ।
‘एकताको विषय सकरात्मक ढंगले अघि बढीरहेको छ,’ बैठकमा दाहालको भनाई उदृत गर्दै नेता मणी थापाले भने, ‘ओली जीको स्वास्थ्यको कारण र केही प्राविधिक विषयका कारण समितिको बैठक बस्न अलि ढिला भएको हो ।’
पार्टी प्रवक्ता पम्फा भुसालले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको बताइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ प्रवक्ता भुसालले भनिन् ।
गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ चुनावी एकता गरेका दुई पार्टी एकता गरेर जानुपर्नेमा अडिग देखिएका छन् । दुवै पार्टी नेतृत्व, विचार र सिद्धान्तको विषयमा भने अन्तिम निर्णयमा पुग्न सकेका छैनन् ।
Comments