दिप बहादुर घर्ति
जाजरकोट ११ असार । रोकायगाउँको एक जंगलमा गत बैसाख र जेठ महिनामा पासोमा परि मरेका ३ वटा रेडपाण्डा फेला परेका छन । मृग मार्नलाई शिकारीले जंगलमा थापेको पासोमा परि  रेडपाण्डा मरेका हुन ।

मृग मार्न शिकारीले थापेको पासोमा परि विगत वैशाखमा एक र जेठ महिनामा २ वटा मृत रेडपाण्डा रोकायगाउं १ मुल्सामगाउंको जंगलमा स्थानीयवासीले फेला पारेका हुन् । रेडपाण्डा छिमेकी जिल्ला जुम्लाको जंगलका रेडपाण्डा हुन सक्ने स्थानियको अनुमान छ ।

जुम्लाका शिकारीहरुले थापेको पासोमा परेर मरेका रेडपाण्डा पाएको रोकायगाउं गाविसका लेखा सहायक विरवहादुर रोकाय वताउंछन् । पासोमा परेर रोकायगाउं–१ स्थित झानेढुंगा जंगलमा मरेका ३ वटा रेडपाण्डा फेला परेका हुन् । रोकायगाउं गाविस संग जोडिएका  जुम्लाका ताम्ती, कुडारी, तातोपानी, तलीम, गोठीगाउं, जुम्लाकोट, गाविसका वासिन्दाहरु जाजरकोटको भुभाग सम्म आएर मृग मार्न पासा थाप्ने गर्छन् ।

स्थानीय स्तरमा रेडपाण्डा संरक्षणका लागी युवाहरु एकजुट भएका छन् । युवाहरु पटक पटक वुकीपाटनमा गएर मृगका लागि थापेका पासा वरामद गरि ल्याए पनि नियमित अनुगमन गर्न नसकिएको लेखा सहायक रोकाय वताउंछन् ।

जिल्लाको उत्तरी भेकका एक दर्जन गाविसहरुमा विश्वकै दुर्लभजन्तु रेडपाण्डा फेला परे पछि उक्त क्षेत्र पर्ने ४ वटा गाविसको जंगलमा विज्ञहरुद्धारा रेडपाण्डा, दुर्लभ गिद्धहरु लगायत जैविक अनुसन्धान र अध्ययन समेत गरि प्रतिवेदन वन मन्त्रालयमा वुझाई सकिएको भएता पनि मन्त्रालय विभाग र सरकारले कुनै वास्ता नगरेको स्थानीयवासीहरुको गुनासोछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।