धनगढी, ९ असार । कैलाली निर्वाचन क्षेत्र नं ६ मा संविधानसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पुष्करनाथ ओझा १४ हजार ७८४ मत प्राप्त गरी संविधानसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश्वर पाठकले ११ हजार ९५९ मत प्राप्त गरे । मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले कैलाली क्षेत्र नं ६ बाट काँग्रेसका उम्मेदवार पुष्करनाथ ओझा निर्वाचित भएको घोषणा गरे ।
गएराति ९:३० बजेबाट सुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान ४:३० बजे आएको थियो
धनगढी नगरपालिका, उर्मा र फूलबारी गाविस पर्ने क्षेत्र नं ६ का कुल ६१ हजार ८१७ मतदातामध्ये ३९ हजार ६६३ मतदाताले मतदान गरेका थिए ।
गत मङ्सिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं ६ गरी दुई ठाउँबाट विजयी भएका नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली क्षेत्र नं ६ छोड्नु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।