दमौली, ९ असार । बेलायतको इजिपी युनिभर्सिटीका विद्यार्थीहरू यतिबेला तनहुँको मनपाङ–८ हर्षपुरस्थित सरस्वती प्राविको भवन निर्माण गर्न जुटेका छन् ।
कलेज बिदामा आएका स्नातकतहमा पढ्ने ती विद्यार्थी नेपाली मिस्त्रीहरूसँग मिलेर भवन निर्माणमा जुटेका हुन् । भवन निर्माणका लागि खाल्डो खन्ने, माटो मुछ्ने, पुर्ने, ढुङ्गा ओसार्ने, काठ ओसार्ने, मसला बनाउनेजस्ता काममा उनीहरू व्यस्त हुने गरेको विद्यालयका प्रधानाध्यापक वसन्त रानाभाटले बताए ।
उनीहरू भवन बनाउन मात्रै होइन कक्षा ४ र ५ मा अङ्ग्रेजी विषय पढाउनसमेत व्यस्त बन्ने गरेका छन् । विद्यालयका शिक्षक सन्तकुमार श्रेष्ठले ती विद्यार्थीहरूले अङ्ग्रेजी विषय पढाउँदै आएको जानकारी दिए ।
गाउँकै होमस्टेमा बस्दै आएका ती विद्यार्थीहरू नेपाली भाषा सिक्न र नेपाली संस्कृतिसँग रमाउनसमेत त्यतिकै जागरुक हुने गरेका छन् ।
बेलायतको इजिपी युनिभर्सिटीको आर्थिक सहयोगमा काठमाडौँ इन्भारोमेन्टल एजुकेसन प्रोजेक्ट (किप) को सक्रियतामा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विद्यालयको भवन निर्माणको कार्य सुरु गरिएको कार्यक्रमका संयोजक अर्जुन लिम्बूले बताए ।
सो युनिभर्सिटीका विद्यार्थीहरूले खाजा खान दिएको रकम बचाएर सङ्कलन गरी पठाएको रु १७ लाखको लागतमा विद्यालयको अत्याधुनिक दुईकोठे भवन निर्माण गर्न लागिएको हो ।