कञ्चनपुर, ४ असार । शिक्षा कार्यालय कञ्चनपुरले अनुमति नलिइकनै सञ्चालनमा रहेको निजी विद्यालयलाई आज बन्द गरेको छ ।

भीमदत्तनगरपालिका– ६ मा सञ्चालित हुनैनाथ एकेडेमी बोर्डिङ स्कुललाई बन्द गर्न शिक्षा कार्यालयले पत्राचार गरेपछि विद्यालय बन्द भएको हो ।

अनुमति बिनानै अनुगमनका क्रममा विद्यालय सञ्चालन गरिएको पाइए पछि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले बताए ।

मङ्गलबार विद्यालय निरीक्षक रुपराम तिरुवाको नेतृत्वमा गएको विद्यालय अनुगमन टोलीले विद्यालय अनुमति बिना सञ्चालन गरिएको पाएका थिए ।

  “अनुगमन समितिले दिएको प्रतिवेदनका आधारमा अनुमति बिना सञ्चालनमा रहेको विद्यालय बन्द गर्न निर्देशन दिएका हौँ” जिल्ला शिक्षा अधिकारी भट्टले भने ।

  विद्यालय सञ्चालक शम्भु भट्टले आज विद्यालयको बोर्ड झिकेर विद्यालय बन्द गरेका हुन् । पचास जना बालबालिका अध्ययन गर्ने विद्यालयमा कक्षा ६ सम्मको पढाइ हँुदै आएको थियो ।

असार पहिलो सातादेखि जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले यहाँका अवैध विद्यालयलाई कानुनी दायरामा ल्याउनका लागि छुट्टाछुट्टै तीन वटा टोली बनाई अनुगमनको कार्य गरिरहेको छ ।

शिक्षा कार्यालयका अनुसार जिल्लाभर ७३ वटा निजी विद्यालय अनुमति बिना सञ्चालनमा रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।