चितवन ४ असार । पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मार्ने विषयलाई लिएर नेपाली सेना र स्थानीयबीच झडप भएको छ ।

गएराति भएको झडपमा तीन सैनिक र दुई जना स्थानीय घाइते भएका छन् । घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो । घाइतेको भने नाम खुलाइएको छैन ।

चिवतन निकुञ्जको आसपासमा मध्यवर्ती क्षेत्रका मानिसहरुले नदीमा माछा मार्ने गर्दछन् । सो क्षेत्रमा बिना अनुमति माछा मार्न पाइँदैन । माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकीन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको  छ ।

सो झडपपछि स्थानीयले नेपाली सेनाको गाडीसमेत नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।